अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्ने छ : कावा अध्यक्ष पोखरेल

14

काठमाडौँ, २७ जेठ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी अभियानको अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना हुनेछ ।

राष्ट्रिय सहकारी महासङ्घका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार सम्मेलन महासङ्घको वार्षिक कार्यक्रमअन्तर्गत नै आयोजना हुन लागेको हो । नेपाल सरकारसँग गत वर्ष गरिएको समन्वयअनुसार सम्मेलनका लागि सरकारी बजेटसमेत प्राप्त भएको र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको संयुक्त आयोजनामा विभिन्न निकायको सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

पोखरेलले नेपालमा करिब ३२ हजार सहकारी संस्था रहेको र तिनमा करिब ९० लाख नागरिक आबद्ध रहेको जानकारी दिनुभयो । ती सदस्यमध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै उहाँले महिलाले नेतृत्व गरेका सहकारी संस्थाहरू तुलनात्मक रूपमा सवल, व्यवस्थित र सफल रहेको अनुभवले देखाएको बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमार्फत महिला नेतृत्वको प्रवर्द्धन, खाद्य सुरक्षा, वित्तीय साक्षरता, उद्यमशीलता, बजार व्यवस्थापन, उत्पादन वृद्धि तथा अन्तर्राष्ट्रिय अभ्यासको आदान–प्रदानलाई प्राथमिकता दिइने छ । साथै नेपाली महिला सहकारीकर्मीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र सहकारी अभियानमा देखिएका नीतिगत समस्याबारे सरोकारवालासँग संवाद गर्ने उद्देश्य पनि सम्मेलनको रहेको उहाँले बताउनुभयो ।

पोखरेलले सहकारी क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको स्वीकार गर्दै केही सीमित सहकारी संस्थामा देखिएको समस्या र वित्तीय अनियमितताका कारण समग्र सहकारी अभियानमाथि नै नकारात्मक भाष्य निर्माण भएको बताउनुभयो । उहाँका अनुसार ३२ हजार सहकारी संस्थामध्ये केही संस्थामा मात्रै समस्या देखिएपनि त्यसले समग्र अभियानलाई असर पुर्‍याएको छ ।

उहाँले सहकारीको मूल दर्शन, मूल्य र सिद्धान्तमा समस्या नभइ व्यवहारिक कार्यान्वयन र केही व्यक्तिको गलत गतिविधिका कारण संकट उत्पन्न भएको जिकिर गर्नुभयो । सम्मेलनले राम्रा सहकारी संस्थाको योगदान सार्वजनिक गर्दै सहकारीप्रतिको विश्वास पुनः स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, सहकारी अभियन्ता, महिला सहकारीकर्मी तथा उद्यमीहरूको सहभागिता रहनेछ । महासङ्घले खुला दर्तामार्फत करिब २०० महिला सहभागी समेट्ने तयारी गरेको छ भने सातै प्रदेशबाट सहभागिताका लागि दर्ता भइरहेको जनाएको छ ।

त्यसैगरी श्रीलङ्का, थाइल्यान्ड, भारतलगायत एसिया–प्रशान्त क्षेत्रका करिब १५ देशलाई निमन्त्रणा गरिएको र केही देशले सहभागिता सुनिश्चित गरिसकेको पोखरेलले जानकारी दिनुभयो । सम्मेलनको मूल नारा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ रहेको छ । सम्मेलनको अन्तिम दिन काठमाडौँ घोषणापत्र जारी गरिनेछ, जसमा सहकारी उद्यमशीलता प्रवर्द्धन, पारदर्शिता, रोजगारी सिर्जना, युवा सहभागिता, प्रविधिको प्रयोग तथा सहकारी क्षेत्रका नीतिगत अवरोध हटाउन कानुनी सुधारका प्रस्ताव समावेश गरिने महासङ्घले जनाएको छ ।

पोखरेलका अनुसार सहकारी ऐन कार्यान्वयनमा अवरोध बनेका विभिन्न कानुन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै घोषणापत्रमार्फत सरकारलाई नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गरिने छ । सम्मेलनले सहकारी क्षेत्रलाई उत्पादनमुखी, पारदर्शी र उद्यमशील बनाउने दिशामा नयाँ बहस र नीतिगत पहलको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

बजेट सहकारीमैत्री आएन, अभियानलाई थप सहयोग आवश्यक छ
कार्यवाहक अध्यक्ष पोखरेलले सरकारले सहकारी क्षेत्रलाई सङ्कुचन गर्नेभन्दा व्यवस्थित र उत्पादनमुखी बनाउने नीति लिनुपर्ने बताएका छन् । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले हालै सार्वजनिक बजेटले सहकारी अभियानलाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गर्दै सरकारबाट थप सहयोगी वातावरण आवश्यक रहेको बताउनुभयो ।

उहाँले सहकारी अभियान ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सिद्धान्तमा आधारित सामाजिक व्यवसाय भएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न सहकारी क्षेत्रको भूमिका अझ विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । बचत तथा ऋण कारोबारलाई सीमित गर्नेभन्दा अझ व्यवस्थित र पारदर्शी बनाउँदै कृषि, उद्योग र मूल्य शृङ्खलासँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरेलले सरकारले समस्याग्रस्त सहकारीको बचत फिर्ता र कानुनी सुधारका विषयलाई प्राथमिकतामा राखेको सकारात्मक भएपनि समग्र सहकारी अभियानलाई प्रोत्साहन गर्ने स्पष्ट नीति बजेटमा नदेखिएको बताउनुभयो । उहाँका अनुसार सहकारी क्षेत्र अहिले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिइरहेको भए पनि त्यसलाई अझ सशक्त बनाउन सरकार र अभियानबिचको सहकार्य अपरिहार्य छ ।

अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलनबाट नीतिगत सुधारको पहल गरिने
पोखरेलले आगामी असार ६ र ७ गते आयोजना हुने अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन सहकारी क्षेत्रका लागि महत्त्वपूर्ण अवसर हुने बताउनुभयो । सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, विज्ञ तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सहभागी हुने र महिला नेतृत्व, उद्यमशीलता, डिजिटलाइजेसन, बजार विस्तार, रोजगारी सिर्जना तथा मूल्य शृङ्खलासम्बन्धी विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनमा राष्ट्रिय सहकारी महासङ्घले नेपालको सहकारी क्षेत्रसम्बन्धी ‘कन्ट्री पेपर’ प्रस्तुत गर्ने छ भने अन्तर्राष्ट्रिय सहकारी महासङ्घको एसिया प्रशान्त क्षेत्रीय सङ्गठनले क्षेत्रीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नेछ । सहभागी देशहरूले पनि आफ्ना मुलुकमा सहकारी र महिला सहभागिताको अवस्थाबारे अनुभव आदान–प्रदान गर्नेछन् ।

सम्मेलनमा महिला सहकारीकर्मीहरूले उत्पादन गरेका वस्तुको प्रदर्शनीसमेत गरिने तथा डिजिटल प्रविधिको प्रयोग, उद्यमशीलता र बजार व्यवस्थापनका नयाँ सम्भावनाबारे बहस गरिने पोखरेलले बताउनुभयो । उहाँले सातै प्रदेश र सकेसम्म ७७ जिल्लाबाट सहभागिता सुनिश्चित गर्न आह्वान गर्दै सम्मेलनले सहकारी क्षेत्रका चुनौतीहरूको समाधान खोज्ने, नीतिगत सुझाव तयार गर्ने र अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरेलले राष्ट्रिय सहकारी महासङ्घले सम्मेलनको आर्थिक व्यवस्थापन पूर्ण पारदर्शिताका साथ गर्ने स्पष्ट पार्दै सहभागीबाट सङ्कलन हुने दर्ता शुल्क, सरकारी सहयोग र विभिन्न संस्थाको सहयोगलाई विधिसम्मत रूपमा खर्च गरिने तथा सम्पूर्ण आय–व्यय महासंघको कार्यसमिति र साधारणसभाबाट अनुमोदन गरिने जानकारी दिनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...