‘म सक्छु’ भन्ने आत्मविश्वासले निम डिकी शेर्पाले चुमिन् सगरमाथा र ल्होत्से [भिडिओ]

10
  • आकाङ्क्षा धामी

काठमाडौँ, १ असार । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निरीक्षक निम डिकी शेर्पाले नयाँ इतिहास रच्नुभएको छ । उहाँ सगरमाथा र ल्होत्से दुवै हिमाल आरोहण गर्ने पहिलो महिला सशस्त्र प्रहरी कर्मचारी बन्नुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा शेर्पाले आफ्नो यो उपलब्धि बाल्यकालदेखि मनमा बसेको सपनाको परिणाम भएको बताउनुभयो । हिमाल आरोही पासाङल्हामु शेर्पाको जीवनकथा पढेपछि आफूमा हिमाल आरोहण गर्ने प्रेरणा जागेको उहाँको भनाइ छ ।

“यो मेरो बाल्यकालदेखिको सपना थियो । त्यसलाई साकार बनाउन सशस्त्र प्रहरी बल नेपालको ठुलो भूमिका छ । सङ्गठनमा प्रवेश गरेपछि मभित्र आत्मविश्वास अझ बढ्यो, तर हिमाल आरोही पासाङल्हामु शेर्पाको जीवनकथा पढेपछि आफूमा हिमाल आरोहण गर्ने प्रेरणा जागेको हो,” उहाँले भन्नुभयो ।

सगरमाथाको चुचुरोमा पुगेपछि आँसु झर्‍यो
आरोहणअघि आफूले लोबुचे हिमाल चढेर उच्च हिमाली वातावरणसँग अभ्यस्त हुने अभ्यास गरेको बताउँदै शेर्पाले सगरमाथाको चुचुरोमा पुगेको क्षण जीवनकै अविस्मरणीय अनुभव भएको सुनाउनुभयो । उहाँका अनुसार त्यतिबेला उहाँले सबैभन्दा पहिले भगवानलाई सम्झिनुभएको थियो ।

उहाँले भन्नुभयो, “फर्स्टमा त मैले ‘हाई’ पचाउनका लागि भनेर लोबुचे पिक चढेँ, सगरमाथाको शिखरमा पुग्दा म निःशब्द भएँ । आँखाबाट आँसु झरिरहेको थियो । विश्वकै सर्वोच्च बिन्दुमा पुगेको अनुभूति शब्दमा व्यक्त गर्न सकिँदैन, एक त थ्याङ्क्यु भगवान भने । किनभने हामी सबै कुराबाट पोक्त हुँदाहुँदै पनि कहिलेकाहीँ भाग्यले साथ नदिइ त्यहाँ पुग्न सक्दैनथ्यौँ । त्यही भएर ‘थ्याङ्क गड’ म तपाईंको कारणले यहाँ छु भन्नेभयो ।”

उहाँले भाग्यले साथ नदिए शिखरमा पुग्न सकिँदैन त्यसैले भगवानप्रति कृतज्ञता व्यक्त गरेको आफ्नो अनुभव सुनाउनुभयो ।

ल्होत्से आरोहण अझ कठिन
निम डिकी शेर्पाका अनुसार सगरमाथाभन्दा ल्होत्से आरोहण उहाँका लागि बढी चुनौतीपूर्ण रह्यो । सगरमाथा आरोहणपछि आएको शारीरिक थकान, अनिद्रा, अक्सिजनको कमी, प्रतिकूल मौसम र पर्याप्त खानपानको अभावले ल्होत्से आरोहण कठिन बनेको उहाँको अनुभव छ ।

उहाँले भन्नुभयो, “ल्होत्से चढ्दा गाह्रो भएको थियो । सगरमाथा चढेर आउँदा पछिको थकानले पनि होला रातको अनिन्द्रा, मौसमको चुनौती, अक्सिजनको कमी पनि होला । खाना पचिरहेको थिएन, त्यस कारण पनि समस्या भएको हो ।”

उहाँले हिमाल चढ्दा चुनौती शारीरिक र मानसिक दुवै हुने गरेको बताउनुभयो । उहाँले हिमाल चढ्दा शारीरिक मात्र नभइ मानसिक रूपमा पनि निकै बलियो हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँ परिरहने, माथिबाट आइसफल खसिरहने अवस्था थियो । पहिले त मौसमी चुनौतीको सामना गर्नुपर्‍यो । मौसम कतिबेला के हुन्छ भन्ने कुरा नै थाहा हुँदैन । सगरमाथा जाँदा ‘डेथजोन’ लाई नै क्रस गरेर आएको हुन्छौँ । हामीले शारीरिक, मानसिक सबै चुनौती भोग्नुपर्ने हुन्छ । तर, आफूमा एकदम आत्मविश्वास बढाउन चाहिँ पर्छ । म सक्छु भन्ने भावनालाई लिएर अगाडि बढ्नुपर्ने हुन्छ ।

एक वर्षको तयारी, तीन महिनाको विशेष प्रशिक्षण
आरोहणका लागि आफूले करिब एक वर्षअघिदेखि आवश्यक प्रक्रिया र स्वीकृतिहरू पूरा गरेको तथा अन्तिम चरणमा तीन महिना विशेष प्रशिक्षण लिएको उहाँले बताउनुभयो । संगठनको सहयोगबिना यो उपलब्धि सम्भव नहुने उहाँको भनाइ थियो ।

“विशेष आरोहणकै लागि भनेर करिब तीन महिना प्रशिक्षण लिए । त्योभन्दा अगाडि नीति नियमहरू बुझेँ । म संगठनलाई प्रतिनिधित्व गर्ने मान्छे, सरकारको नीति नियमहरूलाई पालना गर्नुपर्ने हुन्छ । त्यसको लागि करिब एक वर्ष अगाडिदेखि तयारी गरेको हुँ । जब उताबाट स्वीकृतिहरू आउन थाल्यो, त्यसपछि करिब तीन महिनाको बिचमा नै जाने निर्णय सबै भयो । संगठनले समय व्यवस्थापनदेखि लिएर मानसिक हौसला दिनेसम्म सबै प्रकारको सहयोग गर्‍यो,” उहाँले भन्नुभयो ।

हार मान्ने अवस्था आयो, तर जिम्मेवारीले अघि बढायो
लोबुचे हिमाल आरोहणपछि केही दिन बिरामी परेपछि आफूले आरोहण छाड्ने सोच बनाएको क्षण पनि आएको शेर्पा सम्झनुहुन्छ । परिवारले समेत अर्को वर्ष प्रयास गर्न सुझाव दिएको थियो । तर, त्यसबेला आफूले केवल व्यक्तिगत सपना पूरा गर्न नभइ सशस्त्र प्रहरी बल नेपाल र सम्पूर्ण नेपाली महिलाको प्रतिनिधित्व गरिरहेको महसुस गरेको उहाँले बताउनुभयो ।

“म एक्लै निम डिकी शेर्पा मात्र होइन, मेरो पछाडि संगठन थियो । म एक महिला भएर अगाडि बढिरहेकी थिएँ । त्यहीँ सोचले मलाई पुनः उठ्न र अघि बढ्न प्रेरित गर्‍यो,” उहाँले भन्नुभयो ।

परिवारको साथ र श्रीमान्‌को विश्वास
आरोहणको सुरुवाती चरणमा श्रीमान्‌ले जोखिमका कारण नजान आग्रह गरे पनि सफलतापछि सबैभन्दा बढी खुसी उनै भएको शेर्पा बताउनुहुन्छ ।

“परिवारमा चिन्ता स्वाभाविक थियो । तर, मैले एकपटक प्रयास गर्छु भनेर हिँडेकी थिएँ । सफल भएर फर्किएपछि परिवारको गर्व र खुसी देख्दा झन् हौसला मिल्यो,” उहाँले भन्नुभयो ।

महिलाका लागि प्रेरणा
हिमाल आरोहणको क्रममा महिलाहरूले मासिक धर्मलगायत शारीरिक चुनौती पनि सामना गर्नुपर्ने अनुभव सुनाउँदै शेर्पाले महिलाहरूले आत्मविश्वासका साथ अघि बढे कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न सक्ने बताउनुभयो ।

“हामी केवल घरपरिवारको जिम्मेवारी पूरा गर्नका लागि मात्र जन्मेका होइनौँ । इच्छा शक्ति, मेहनत र आत्मविश्वास भए महिलाले पनि जुनसुकै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्छन्,” उहाँले भन्नुभयो ।

उहाँले आफूभन्दा अगाडिका महिला आरोहीहरूबाट प्रेरणा पाएको उल्लेख गर्दै आगामी पुस्ताका महिलालाई आफ्ना सपना पछ्याउन आग्रह गर्नुभयो ।

हिमाल संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड
नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भएकाले हिमाल संरक्षण र पर्यटन प्रवर्द्धनमा सबैले योगदान गर्नुपर्ने शेर्पाको धारणा छ ।

उहाँका अनुसार हिमाल संरक्षणका विषयमा बारम्बार आरोहण गर्ने अनुभवी आरोहीहरूका अनुभव अझ महत्त्वपूर्ण हुन्छन् । साथै विदेशी पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराएर नेपालको पर्वतीय पर्यटनलाई अझ सशक्त बनाउनुपर्ने उहाँको सुझाव छ ।

फेरि कर्तव्यतर्फ
हाल विभिन्न कार्यक्रम र अन्तर्वार्तामा व्यस्त रहनुभएकी शेर्पा केही समय विश्रामपछि पुनः आफ्नो नियमित जिम्मेवारीमा फर्किने तयारीमा हुनुहुन्छ ।

“आगामी दिनमा के हुन्छ समयले नै बताउँछ । अहिले मेरो प्राथमिकता संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नु हो,” उहाँले भन्नुभयो ।

हार नमानेको अठोटले दिलायो दोहोरो सफलता
तर, आरोहणको यात्रा सुरु गर्दा निम डिकी शेर्पाको लक्ष्य केवल सगरमाथाको चुचुरोमा पुग्ने थियो । ल्होत्से आरोहणको योजना मनमा भए पनि त्यो आत्मविश्वास भने विस्तारै उचाइसँगै बढ्दै गएको थियो । तर, सपना पूरा गर्ने बाटो सहज थिएन ।

लोबुचे पिक आरोहणपछि उहाँ अचानक बिरामी पर्नुभयो । लगातार पाँच–छ दिन आराम गर्नुपर्‍यो । शरीर कमजोर थियो, मनमा अन्योल थियो । श्रीमान्ले पनि जोखिम नलिन आग्रह गर्दै अर्को वर्ष प्रयास गर्न सुझाव दिनुभएको थियो । एक क्षण त उहाँलाई पनि लाग्यो सायद अब यात्रा यहीँ टुंगिन्छ, सायद अब फर्किनुपर्छ ।

तर, त्यो निराशाको बिचमा उनले आफूलाई फेरि सम्झाउनुभयो । उहाँ केवल निम डिकी शेर्पा मात्र थिइनन् । उहाँको पछाडि एउटा संगठनको विश्वास थियो, सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी थियो । त्यसमाथि उहाँ हजारौँ नेपाली छोरीहरूको सपना र सम्भावनाको प्रतीक बनेर अघि बढिरहनुभएको थियो । यही सोचले उहाँलाई फेरि उठ्न, लडाइँ जारी राख्न र लक्ष्यतर्फ अघि बढ्न ऊर्जा दियो ।

उहाँ शेर्पा समुदायकी छोरी, बुहारी हुनुहुन्थ्यो, तर त्यसभन्दा माथि राष्ट्रको सुरक्षा निकायको प्रतिनिधि हुनुहुन्थ्यो । उहाँलाई चिन्ने धेरैका लागि उहाँ केवल निम डिकी शेर्पा होइन, सशस्त्र प्रहरी बल नेपालको एउटा अनुशासित र साहसी कर्मचारी हुनुहुन्थ्यो ।

त्यसैले उहाँले हार मान्नुभएन । अन्ततः जब उहाँ शिखरमा पुग्नुभयो, उहाँले सबैभन्दा पहिले सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउनुभयो । प्रतिकूल मौसम र तीव्र हावाहुरीका बिच पनि संगठनको पोसाक शिखरमा पुर्‍याएर लगाउने आफ्नो सपना पूरा गर्नुभयो ।

त्यो केवल एउटा आरोहणको सफलता थिएन । त्यो विश्वास, जिम्मेवारी, साहस र अडानको विजय थियो । कठिन परिस्थितिमा पनि आफूलाई नहार्ने अठोटले एक महिलालाई विश्वका दुई अग्ला हिमशिखरहरूको सफल आरोही बनायो ।

साहस, दृढ संकल्प र अथक मेहनतका साथ सगरमाथा र ल्होत्सेको शिखर चुमेकी निम डिकी शेर्पाको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली महिलाको क्षमता, आत्मविश्वास र सम्भावनाको प्रेरणादायी उदाहरण पनि हो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...