बेनी, २६ जेठ । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गर्नुभएको छ ।
बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाइ गरी सफलता प्राप्त गर्नुभएको हो । करिब एकदशक लामो वैदेशिक रोजगार त्यागेर विसं २०७२ देखि पशुपालन सुरु गर्नुभएका ढुङ्गाना जिल्लामा गाईभैँसी धेरै पाल्ने सफल अगुवा कृषकका रूपमा परिचित हुनुहुन्छ ।
सुरुमा एक÷एक वटा गाई र भैँसी खरिद गरेर ‘ढुङ्गाना कृषि तथा पशुपन्क्षी फार्म’ सञ्चालनमा ल्याउनुभएका उहाँले अहिले दैनिक ३०० लिटर दुध बिक्री गर्दै आउनुभएको छ । उहाँको फार्ममा अहिले ४५ वटा माउसहित ५० वटा गाईभैँसी छन् । उहाँले दैनिक रूपमा करिब ३५ हजार बराबरको दुध बिक्री गर्दै आउनुभएको छ । ढुङ्गानाको फार्ममा उन्नत जातका मुर्रा भैँसी तथा होलस्टेन र जर्सी गाईपालन हुँदै आएको छ ।
“एकदशक बढी समय खाडी मुलुकमा पसिना बगाएँ, आफ्नै गाउँ फर्किएर पशुपालन र कृषिबाटै अघि बढ्ने लक्ष्यका साथ वैदेशिक रोजगारलाई बिट मारेको थिएँ, आज आफैँले सुरू गरेको कर्मबाट सफलता मिलेको छ, यो पेसाबाट खुसी र सन्तुष्टि छु”, ढुङ्गानाले भन्नुभयो ।
पशुपालनबाट ढुङ्गानाले आफू स्वरोजगार र आत्मनिर्भर मात्रै बन्नुभएको छैन, अन्य पाँच जनालाई नियमित रूपमा रोजगारीको अवसर सिर्जना गर्नुभएको छ । उहाँको फार्ममा तीन जनाले आवासीय रूपमा नै रोजगारमा आबद्ध छन् भने अन्य दुई जना दैनिक रूपमा फार्ममा कामका लागि आउने गर्छन् । बिहान सबेरैदेखि राति अबेरसम्म फार्मका गाई भैँसीको घाँस, पानी र स्याहारमा खटिने ढुङ्गानाले अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा रहेका सम्भावनामा भविश्य खोज्नुपर्ने बताउनुहुन्छ ।
ढुङ्गानाको फार्ममा उत्पादन हुने दुध बेनी बजारकै धौलागिरि डेरी उद्योगमा खपत हुने गरेको छ । बेनी बजारदेखि नजिकको दुरीमा फार्म सञ्चालन भएकाले उहाँले मोटरसाइकलमै दुधका क्यान राखेर दुध ढुवानी गर्दै आउनुभएको छ ।
फार्ममा बिहान १० बजेदेखि र दिउँसो २ बजेसम्म गाईभैँसी दुहुन सुरू गर्ने र ४ बजेको समयभित्र उद्योगमा दुध ढुवानी गरी पुर्याउने समय तालिका छ । डेरी उद्योगले प्रतिलिटर १२० रुपैयाँमा दुध खरिद गर्दै आएको छ । दुध उत्पादन नियमित हुने र डेरी उद्योगले सहजै खरिद गर्ने भएकाले दुध बिक्रीका लागि थप बजारको खोजी गर्नुपर्ने बाध्यता रहेको छैन ।
कुरिलाखर्कमा आफ्नै पुर्ख्यौली जग्गामा फार्म सञ्चालन गर्नुभएका ढुङ्गानाले पशुपालनबाट भएको आम्दानीबाट थप जग्गा खरिद गरी फार्मको क्षमता बढाउनुभएको छ । उहाँको फार्ममा पूर्वाधार र गाईभैँसी खरिदमा अहिलेसम्म साढे दुई करोड बढी लगानी भइसकेको छ । जिल्लामै ठुलो र नमुना फार्मका रूपमा विकास भइरहेको यस फार्मको अवलोकनका लागि विभिन्न ठाउँबाट कृषक पुग्ने गरेका छन् । पशुपालनबाट सफलता प्राप्त गर्नुभएका युवा कृषक ढुङ्गानाले जिल्लास्तर र प्रदेशस्तरबाट विभिन्न पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
विसं २०८० मा ‘ढुङ्गाना कृषि तथा पशुपन्क्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट पुरस्कृत भएको थियो । व्यवस्थित र व्यावसायिक रुपमा पशुपालन गर्नुभएका ढुङ्गानाले स्थानीय, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयबाट प्राप्त सहयोगले आफूलाई पशुपालन गर्न हौसला थपिएको बताउनुहुन्छ । फार्मबाट गाईभैँसीको गोबर मल बिक्री हुने गरेको छ ।
बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म नगरपालिका र जिल्लामै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले पशुपालक कृषकलाई नगरपालिकाबाट औषधि उपचारमा प्राविधिक सहयोगका साथै विगत तीन वर्षदेखि नगरपालिकाले उत्पादनमा आधारित अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । –रासस