योग शिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि…

10

जुम्ला, २२ वैशाख । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी)गरिएको छ ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले यहाँको पातारासी गाउँपालिका–३ स्थित छुमगाउँका गोरबहादुर बोहराको टाउकाको ‘न्युरोसजेरी’ सफल भएको हो ।

यही वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उहाँलाई उपचारार्थ प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा चिकित्सको समस्याले गर्दा बोहोरालाई अन्य सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ को तयारी समेत गरिएको थियो ।

प्रष्ठिानमा कार्यरत डा.निर्मल थापाले दिनुभएको जानकारी जानकारी अनुसार डा.खड्का जिल्लामै रहनुभएको सूचना पाएपछि शल्यक्रिया गरिदिन बिरामीका आफन्तले आग्रह गरेका थिए ।

योग शिविरका लागि डा.खड्का यहाँस्थित गुठीचौर गाउँपालिका–५ देपालगाउँमा रहनुभएको थियो । डा.खड्काले मानवीय भावनाका साथ शल्यक्रिया गर्न सहमति जनाएपछि आइतबार साँझ शल्यक्रिया गरिएको बिरामीका आफन्त गोर्खबहादुर रावतले जानकारी दिनुभयो ।

शल्यक्रियामा डा.खड्कासँगै प्रतिष्ठानमा कार्यरत डा.थापा र डा.रमेश काफ्लेलगायतको टोली सम्लग्न रहेका प्रतिष्ठानले जनाएको छ ।

निःशुल्क रूपमा शल्यक्रिया हुँदा आर्थिक र समयको बचत भएको छ । डा.खड्कालाई बिरामीका आफन्तले विशेष धन्यवाद दिएका छन् ।

पछिल्ला दिन प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तहको पठनपाठन समेत सुरुवात भइसकेको छ । प्रतिष्ठानलाई चिकित्सा शिक्षा र उपचारको अब्बल बनाउन लागिरहेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर भण्डारीले जानकारी दिनुभयो । –रासस

Share This:
सम्बन्धित खबर
Loading...