काठमाडौँ, ११ पुस । बुधबारदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आएको छ । क्रिसमसको अवसर पारेर चलचित्र ‘देववाणी’ प्रदर्शनमा आएको हो ।
फिल्मको प्रचार प्रसारका लागि उक्त फिल्मका भारतीय अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा काठमाडौँमा आइसकेका छन् ।
बाबु साहेब बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको छ । पुष १० देखि हलमा लागेको चलचित्र ‘देव बाणी’को प्रचारका लागि अभिनेत्री लेप्चा र अभिनेता भारद्वाजलाई समेत निर्माण युनिटले प्रचारमा व्यस्त बनाएको छ ।
प्रचारमा व्यस्त रहनुभएका अभिनेता भारद्वाजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिनुभएको छ । उहाँले नेपाल न्यूज बैंकको विशेष कुराकानीमा नेपाल आफ्नो मनको घर रहेको बताउनुभएको हो । उहाँले फिल्म देवबाणी’ मा आफ्नो भूमिका देवको भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल मलाई धेरै नै मनपर्छ । जसमा नेपाली मान्छे भगवान जस्तै छन् । म आफैँ यो फिल्ममा दर्शकको साथ पाउँदा धेरै खुसी भएको छु । फिल्म एकदमै एक्सन फिल्म हो । यसमा रोमान्ससँगै कम्पिलिट प्याकेज देख्नुहुन्छ । यसमा मेरो भूमिका देवको छ ।’
साथै उहाँले अहिलेसम्म नगरेको भूमिका फिल्ममा गरेको बताउनुभयो । उहाँले देववाणी फिल्ममा सबै रोलहरु सम्झिन लायकको भएको बताउनुभयो । यसैगरी उहाँले दिनभरको घाममा काम गर्न चुनौती रहे पनि जहाँ चुनौती हुन्छ त्यहाँ सफलता मिल्ने बताउनुभयो ।
नेपाली सिने बजारमा फिल्मले राम्रो शोहरु पाए नतिजा सकारात्मक आउने आशा व्यक्त गर्नुभयो । उहाँले सिने क्षेत्रमा समेत राजनीतिकिरण हुँदा आफूलाई दुःख लागेको गुनासो पोख्नुभयो ।
यसैगरी कुराकानीको क्रममा अभिनेता भारद्वाजले भोजपुरी फिल्म छायांकनको क्रममा नेपाल आएको बेला नेपालमा दिल बसेको समेत बताउनुभयो ।
फिल्म ‘देववाणी’मा नेपाली र हिन्दी दुवै भाषामा डबिङ भएकाले नेपाल र भारतका दर्शकको माया पाउने उहाँले अपेक्षा राख्नुभयो । उहाँले आफ्नो चलचित्र देव वाणीलाई सबै दर्शकहरुलाई चलचित्र हलमा गएर हेर्न समेत अनुरोध गर्नुभयो ।
अभिनेता भारद्वाज टेलिश्रृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गर्नुभएको छ । साथै उहाँले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गर्नुभएको छ । उहाँ भोजपुरी फिल्ममा परिचित अभिनेता हुनुहुन्छ ।
अभिनेत्री अनुजा लेप्चाले फिल्म ‘देव वाणी’ नेपाल र भारतमा एउटै मितिमा रिलिज गर्ने तयारी भए पनि विविध कारणले सम्भव नभएको बताउनुभयो । उहाँले नेपाल र भारतमा एकै किसिमको अनुकुल समय नमिल्दा सँगै रिलज हुन नसकेको बताउनुभयो । उहाँले पनि फिल्म ‘देव वाणी’ एक्सन र रोमान्सको शैलीमा बनाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सबै जनाले साउथको एक्सन धेरै मन पराउने गर्नुहुन्छ । त्यही किसिमले नेपालमा पनि केही गर्न सकिन्छ कि भनेर फिल्म बनाएका छौँ । यसमा एउटा साउथ एक्सन, लभ स्टोरी देख्न सक्नुहुन्छ । सामाजिक सन्देश पनि लिन सकिन्छ । फिल्म मिटरब्याज, शिक्षा नपुगेको ठाउँको बारेमा छ । एउटै मितिमा रिलिज गर्ने तयारी भएपनि विविध कारणले सम्भव भएन ।’
यसैगरी अभिनेत्री लेप्चाले फिल्म मिटरब्याज पीडितहरुको दुःख समेत समावेश गरिएको बताउनुभयो । उहाँले आफ्नो भूमिका एउटा गाउँको सोझी केटीको भएकाले यसमा डुब्न गाह्रो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘मेरो भूमिका गाउँको सोझो केटीको छ । जहाँ कुर्ता सुरुवाल लगाएर आफ्नो भूमिकामा डुब्न अलिकति गाह्रो नै भयो । तर, गाउँबाटै आएकाले काम गर्न सजिलो नै भयो । ४५ डिग्रीको गर्मीमा बढी दौडिएको म सम्झिन्छु ।’
उहाँले भाषाको कुरामा सुरुमा थोरै समस्या भएको बताउनुभयो । उहाँले हिन्दीमा डायलगहरु बोल्नुपर्दा टोनहरु पनि नमिल्ने, नर्भस पनि भएँ । तर विस्तारै सजिलो नै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भाषाको कुरामा सुरुमा अलि गाह्रो नै भयो । हिन्दी डायलगहरु बोल्नुपर्दा टोन पनि नमिल्ने, नर्भस पनि भएँ तर विस्तारै सजिलो नै भयो । हाम्रो फिल्म हिन्दी नेपाली दुवैमा छ । तर, ह्यारी जोश साउथको अभिनेत्रीको भने हिन्दीमा नै राखिएको छ । भाषाको तयारी १५ दिन अगाडिदेखि नै भइरहेको थियो, कुन्दनजीले धेरै सहयोग गर्नुभयो हिन्दी भाषाको लागि । म ठुलो पर्दामा आउछु भनेर कहिले सोचेको पनि थिइनँ । मलाई एकदमै खुसी लागेको छ । जहाँ काम गरे पनि काम देखाउने हो, सजिलो गाह्रो भन्दा पनि भारतको कलाकारहरु चिनेको हुँदैन, भाषा पनि बुझिँदैन भन्ने चाहिँ थियो । तर, राम्रो भयो । म त जहिले राम्रो नै होस् भन्छु ।’
अभिनेत्री लेप्चाले फिल्म क्षेत्र सानैदेखिको रुचीको विषय भएको सुनाउनुभयो । उहाँले आफू सही ठाउँ र बाटोमा छ भने कसैले हस्तक्षेप गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘फिल्म क्षेत्र भनेको मेरो सानैदेखि रुची भएको क्षेत्र हो । यसमा मलाई मेरो बुबा, आमाले पनि साथ दिनुभयो र आज म यहाँ आइपुग्न सफल भए । फिल्म क्षेत्र राम्रो होइन भन्ने भाष्य छ । यो एकदमै गलत हो । यो आफैँ भर पर्ने कुरा हो । जबरजस्ती कसैले गर्दैन । आफू सही र सही बाटोमा छौँ भने कसैले जबरजस्ती गर्दै आउँदैन । ’
फिल्ममा अभिनेता भारद्वाज र अभिनेत्री लेप्चालाई डेब्यू गराइएको हो । फिल्ममा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय छ ।
एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न सकिने छ । फिल्मलाई सिमरा, वीरगञ्ज, र काठमाडौँमा छायांकन गरिएको हो । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पार्नुभएको हो ।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल हुनुहुन्छ । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुनुहुन्छ । फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।
मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ ।
आकांक्षा धामी/ नेपाल न्यूज बैंक