काठमाडौँ, १९ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आफूलाई कर्णाणी प्रदेशको कथा राम्रोसँग जानकारी भएको बताउनुभएको छ ।
कर्णाली विकासको मूलप्रवाहमा जोडिन नसकेको चर्चा गर्दै उहाँले आफ्नो पार्टीले यसलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
हुम्ला, जुम्लाका महिलाका कथाहरु आफूलाई राम्रोसँग थाहा भएको दाबी गर्दै संग्रौलाले कर्णालीबासीको विकास र समृद्धिका लागि कांग्रेसले पहल गर्ने आश्वासन दिनुभयो ।
कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, ‘कर्णालीमा समस्याहरु पनि छन्, चुनौतीहरु पनि छन्, साथसाथै सम्भावना पनि छन् । कर्णाली विकासको मुलधारबाट परेकै छैन । मूलधारबाट उज्यालोतर्फ लैजानका लागि कांग्रेसले पहल गर्छ । उज्यालो कर्णालीका लागि हामीले यात्रा तय गरिसकेका छौँ ।’
‘कांग्रेस कहिले एक कदम अगाडि होला, कहिले एक कदम पछाडि होला । कांग्रेस कहिले सत्तामा होला, कहिले सडकमा होला, कांग्रेस कहिले भावनामा होला,’ संग्रौलाले भन्नुभयो, ‘जहाँ भए पनि कांग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नै पर्छ ।’
कांग्रेस जनताको केन्दबिन्दु बन्न नसके विभिन्न वर्गको आशाको केन्द्र बन्न नसक्ने पनि बताउनुभयो ।
‘जनताको केन्द्रबिन्दु बन्न सकेन भने २१औँ शताब्दिको आधुनिक कांग्रेस महिला, दलित, आदिवासी–जनजातिलगायतका सबै वर्गको आशाको केन्द्र बन्न सक्दैन,’ उहाँले भन्नुभयो ।