दार्चुला हिउँपहिरो : बेपत्ता ५ जनामध्ये ३ जनाको शव फेला

130

दार्चुला, २० वैशाख । दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–१ बोलिनमा मंगलबार हिउँपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म छाङरुबाट सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टको कमाण्डमा गएको टोलीले तीन जनाको शव फेला पारेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पहिरोमा बेपत्ता एक पुरुष र ४ महिलामध्ये दुहु गाउँपालिका ४ पोक्से का १८ वर्षीय प्रवीण कुँवरको सनाखत भएको छ भने अन्य दुई महिलाको सनाखत हुन सकेको छैन । हराइरहेका अन्य दुई जना महिलाको खोजी कार्य जारी रहेको सहप्रवक्ता थापाको भनाइ छ ।

यार्सागुम्बा संकलन गर्न गएका १२ जनामध्ये ५ जना हिउँपहिरोमा परी बेपत्ता भएका थिए भने अन्य ७ जनाको सशस्त्र प्रहरीले मंगलबार साँझ नै उद्धार गरेको थियो । यार्सागुम्बा संकलन गर्न गएका अन्य १३ जना समेत मंगलबार राति सशस्त्र प्रहरीको टोलीसँगै फर्किएका थिए ।

हिउँपहिरोमा बेपत्ता भएका महिलाहरुमा डोटी जिल्लाको जोरायल गाउँपालिका–२ वुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा, १५ वर्षीया क्षिमी सोमो थापा र दार्चुला जिल्लाको दुहु गाउँपालिका–४ पोक्सेकी ३६ वर्षीया कमला कुँवर रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...