राजनीतिमा पद पाउनैपर्ने आशक्ति बढ्दै गएको छ : प्रचण्ड

148

काठमाडौँ, १३ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरुले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन् ।

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पूरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ति सामाजिक रुपान्तरणको अभियानको आवश्यकता रहेको बताए ।

बिभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको र संविधानमा अवको राज्य समाजवादउन्मुख हुने उल्लेख हुनु सानो विषय नभएको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले राजनीतिक दलहरु र राजनीतिमा पदप्रति आशक्ति बढ्दै गएकाले विगतमा जस्तो त्याग नदेखिएको टिप्पणी गरे ।

प्रचण्डले कृष्ण सेन पत्रकार, साहित्यकार मात्र नभइ त्याग र बलिदानको पनि क्रान्तिकारी नेता भएको दाबी गरे । उनले इच्छुकबाट त्याग गर्ने कुरा सिक्नुपर्ने बताए ।

क्षणिक व्यक्तिगत स्वार्थका लागि अस्वस्थ प्रतिस्पर्धामा नेपाली समाज गइरहेको प्रचण्डको भनाइ छ ।

‘अहिले पद पाउन वा आफूले केही लाभ हुन्छ भने क्षणिक व्यक्तिगत स्वार्थ पूर्ति हुन्छ भने त्यसका लागि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ,’ उनले भने,‘तर, कृष्णसेनले आफूलाई सधैँ अरुलाई अवसर दिनुस् भनेर प्रेरणा दिनुभएको थियो ।’

उनले अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभइ दिग्भ्रम र विचलनतिर गइरहेको उल्लेख गरे । उनले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए ।

कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९ः महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७८ः बलराम थापा र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७९ः लक्ष्मी पुनलाई प्रदान गरिएको थियो ।

विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...