काठमाडौँ, १२ जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिबाट भूमि र सीमाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै खनालले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताए ।
“राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल भएर उभिन सक्नुपर्छ, यस्तो परराष्ट्र नीति जरुरी छ,” उनले भने,“अब कूटनीतिक कुरा गर्ने होइन, राष्ट्रिय सहमतिबाट हाम्रो भूमि र सीमाको संरक्षण गर्नुपर्छ ।”
नेता खनालले वर्तमान संविधानलाई मार्गदर्शन मानेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भूमि सुधारको कुरा नीति तथा कार्यक्रममा नभएको उल्लेख गर्दै भने,“भूमिसम्बन्धी तथ्यांक हामीसँग अध्यावधिक छैन, कुनै पनि ठाउँमा क्लिक गर्दा हेर्न सकिने गरी बनाउनुपर्छ ।”
नेता खनालले अब राजनीतिक दल ठीक ढंगले चल्न नसके धेरै बालेन जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताए ।
नेता खनालले श्रमजीवी वर्गको जनताका हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी ठोस नीति हुनुपर्ने बताए । त्यस्तै, श्रमशक्तिको पलायनलाई रोक्दै मुलुकमा नै रोजगारी सिर्जना गर्नका लागि पनि ठोस कार्यक्रमको आवश्यकता रहेको उनले बताए ।