काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन् ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने तयारी गरेसँगै लामो समयदेखि छलफलविहीन रहेको ओली र नेपालबीच छलफल सुरु भएको छ ।
पार्टी भित्रको विवाद नमिलाइकन विश्वासको मत लिन नसकिने मत ओलीको विश्वास पात्रहरुको दवावका कारण ओलीले नेपाल पक्षसँग छलफल सुरु गरेका हुन् । ओली–नेपाल छलफल सुरु भएसँगै अब एमाले एक भएको कुरा बाहिर आउन थालेपछि नेपालले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएका हुन् ।
नेपालले भनेका छन्, “हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिका आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन ।”
उनले २०७७ फागुन २८ गते र ततपश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने बताएका छन् । भने २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन भएको पनि जानकारी दिएको छ ।
उनले यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गरेका छन् ।