काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् ।
स्पेन भ्रमणबारे जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गरे ।
स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्यमुनि बुुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुरोध गरिएको जानकारी दिए । उनले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नवीनतम सोच भएको र खुसी प्राप्तिका लागि कसैले अर्को जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राखे ।
लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूमि र दुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राखे । फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरे
स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुइलेरम्मो फर्नान्डेज भारका निमन्त्रणामा त्यहाँ आयोजित शान्ति सम्मेलनमा भाग लिने सिलसिलामा उनले गत चैत २३ देखि यही वैशाख १ गतेम्म भ्रमण गरेका थिए ।