बरामद गरिएका १७ मोटरसाइकल र ९ स्कुटर सवारी धनीलाई बुझाइयो

541

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइरहेको छ ।

महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरी २६ वटा मोटरसाइकल खोजतलास गरी बरामद गर्न सफल भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा धादिङ, चितवान, मकवानपुर, बारा जिल्लाबाट चोरी भएका उक्त मोटरसाइकल खोजतलास गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताए । उनले भने, “अधिकांश मोटरसाइकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको छ भने चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाइ बेचबिखन गर्ने गरेको पाइएको छ ।”

त्यसकारण सवारी धनीले सवारी साधन चोरी हुन सक्छ भनी सावधानी नअपनाउँदा सवारी चोरी भइरहेकोले सम्बन्धित सवारी धनी एवम् चालक स्वयम् जिम्मेवार भई पार्किङ् गर्दा विशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपाय प्रयोग गर्नुपर्ने भट्टराईले सुझाव दिए ।

ट्राफिक प्रहरीले विशेष सूचना संकलन गरी अपरेसनबाट मोटरसाइकल बरामद गर्द्छन् भने चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गर्दछन र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलक सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा Lost Vehicle Application मा लगइन गरेर निवेदन दिने सकिने व्यवस्था समेत ट्राफिक महाशाखाले गरेको छ ।

माेटरसाइकल हस्तान्तरण लिस्ट
Share This:
सम्बन्धित खबर
Loading...