संस्कृति जोगाउन धरानमा लिम्बू समुदायको केलाङ नाच प्रशिक्षण

2
  • संगीता राई

धरान, ९ जेठ । लिम्बू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा नयाँपुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ ।

प्रशिक्षक कुमार हुक्पा चोङ्बाङले आधुनिकताको प्रभावसँगै युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै गइरहेका बेला यस्ता प्रशिक्षणले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रशिक्षणमा सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्त्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइ भइरहेको जानकारी दिनुभयो ।

लिम्बु समुदायमा विवाह, व्रतबन्ध, घरपैँचोलगायत अवसरमा गीतको भाकासहित प्रस्तुत गरिने केलाङ नाच सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश मानिन्छ । चोङ्बाङले नयाँपुस्तालाई यही, शैली र मान्यता हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रशिक्षार्थी अमित थेबेले केलाङ प्रशिक्षणले आफ्नो संस्कृति जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषिक तथा सांस्कृतिक सम्पदाको पुस्तान्तरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुनुका साथै हाम्रा अग्रजहरूले संरक्षण गर्दै आएका संस्कृतिलाई नयाँपुस्ताले पनि जोगाउन आवश्यक छ ।”

प्रशिक्षार्थी सन्जु लिम्बूले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउँदै प्रशिक्षणपछि आफ्नो संस्कृतिबारे अझ नजिकबाट बुझ्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीजस्ता युवापुस्ताले आफ्नो संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ । लिम्बु समुदायले विभिन्न अवसरमा केलाङ नाचमार्फत संस्कृति प्रदर्शन गरिरहेका हुन्छन्, यो प्रशिक्षणपछि हाम्रा मौलिक कला, संस्कृति र परम्परा हस्तान्तरण र संरक्षण हुने विश्वास छ ।”

धरान उपमहानगरपालिकाको आर्थिक सहयोग तथा किरात याक्थुङ चुम्लुङ धरान–१९ कार्यसमितिको आयोजनामा प्रशिक्षण सञ्चालन भइरहेको छ । कार्यसमिति अध्यक्ष प्रेमकुमार इधिङ्गो लिम्बूले भन्नुभयो, “हामीले अपेक्षा गरेकोभन्दा बढी युवापुस्ताको सहभागिताले उत्साहित भएका छौँ । प्रशिक्षणमा लिम्बू समुदाय मात्र नभइ विभिन्न समुदायका युवाको सहभागिताले परम्परागत कला र संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।”

अध्यक्ष इधिङ्गोका अनुसार केलाङ नाच लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचान भए पनि यसको संरक्षण र प्रवर्द्धन सबैको साझा जिम्मेवारी हो । उहाँले ८० जनाभन्दा बढीको सहभागिता रहेको प्रशिक्षण आइतबारसम्म सञ्चालन हुने जानकारी दिनुभयो । आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रशिक्षार्थी विजय रम्तेलले आफू लिम्बु समुदायको नभए पनि साथीहरूको प्रेरणाले केलाङ नाच सिक्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरूमा केलाङ नाच निकै गाह्रो लागेको थियो, तर सिक्दै जाँदा सहज भयो । विशेषगरी लिम्बु समुदायको पहिरन र संस्कार मन परेको छ, यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता हो ।”

केलाङ नाचप्रति युवापुस्ताको रुचि र लगाव रहेको किरात याक्थुङ चुम्लुङ सङ्घीय सल्लाहकार नरप्रसाद लुम्फलुङ्वाले बताउनुभयो । सोही कारणले लिम्बु समुदायको संस्कृति संरक्षण गर्दै यसका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ ।

केलाङ अर्थात् च्याब्रुङ नाच लिम्बू (याक्थुङ) समुदायको मौलिक सांस्कृतिक लोकनृत्य हो । च्याब्रुङ बाजाको तालमा सामूहिक रूपमा प्रस्तुत गरिने यो नृत्यले लिम्बू समुदायको संस्कृति, परम्परा, प्रकृतिप्रेम र सामुदायिक एकतालाई प्रतिविम्बित गर्ने लुम्फलुङ्वाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विवाह, उँभौली तथा उँधौली, मेला, उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच प्रस्तुत गरिन्छ । ढोलजस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यो नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनयसमेत समावेश गरिन्छ ।

युवायुवती मौलिक भेषभूषामा सजिएर सामूहिक रूपमा प्रस्तुत हुने केलाङ नाचमा लिम्बू भाषाका गीत, पारम्परिक संस्कार र मौलिक संस्कृतिको झल्को पाइन्छ । लिम्बू समुदायले केलाङ नाचलाई मनोरञ्जनको माध्यम मात्र नभई सांस्कृतिक पुस्तान्तरण, सामाजिक एकता र परम्परा संरक्षणको महत्त्वपूर्ण आधारका रूपमा लिने गरेका छन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...