सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराउने संघका प्रतिनिधि पक्राउ

571

सुनसरी । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराइ सक्कली चालक भगाउने संघका दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा विटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका यी दुवै जना कोसी यातायात प्रालि इटहरीका सञ्चालक समितिका सदस्य रहेको खुल्न आएको छ ।

यही चैत्र १२ गते सुनसरी कोशी–८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईलाम ८ तिल्केनीका मेख बहादुर राई सख्त घाइते भएकोमा उनको बिराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रालि इटहरीका सञ्चालक समितिका सदस्यद्यय जीवन र नेत्र प्रसादले सिरहा लाहान–८ घर भइ विराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनीमाथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफू दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैयाँ दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनी आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसँगै घटनाको यथार्त पर्दाफास भएको हो ।

यसरी झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाइएपछि यातायात प्रालिका सञ्चालक समितिका सदस्यद्वय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

पीडित पक्षलाई क्रियाखर्च क्षतिपूर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेवार कर्मचारी तथा बसका सञ्चालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरी वास्तविक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...