काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव कुमार नेपाल समूह सोमबार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो ।
एमाले पुनः स्थापना भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुसँग भेटेका छैनन् । यसबीच अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनलगायतका विषयमा टुंगो लगाउँदैछन् ।
एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने निष्कर्षसहित पेरिसडाँडाबाट छुटेका नेपाल समूहले बुधबार अपरान्ह ४ बजे आफ्नो समूहका केन्द्रीय सदस्यहरुलाई बानेश्वरको अर्याल होटलमा बोलाएको छ । बैठक बोलाइएको बारे एक केन्द्रीय नेताले बताए ।
अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक बस्न लागेको बताइएको छ ।
साविकको एमाले संसदीय दलमा ओलीको अत्यधिक बहुमत रहेपनि केन्द्रीय कमिटीमा भने नेपालका पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन् ।
प्रतिनिधिसभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन् । नेपाल पक्षले आफूहरुसँग ४२ सांसद रहेको दाबी गरेको छ ।