काठमाडौँ, २२ साउन । नेपाल राष्ट्र बैङ्कले ६० अर्ब रूपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।
बैङ्कको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो ।
केन्द्रीय बैङ्कले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैङ्क तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टम (ओबिएसएस) मार्फत मात्र बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप सङ्कलन गरिने छ भने साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २२ गते हुने छ । बोलकबोलमा न्यूनतम १० करोड रूपैयाँदेखि अधिकतम १० करोड रूपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ ।
निक्षेप सङ्कलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोलबाट कुल निष्काशित रकमभन्दा बढी रकमको माग भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ ।
नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउने छन् । बोलकबोलमा निक्षेपकर्ताले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।
स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैङ्कमा रहेको खाताबाट खर्च गरी लिइने र सङ्कलित निक्षेपका लागि छुट्टै खाता खोली जम्मा गरिने केन्द्रीय बैङ्कले जनाएको छ ।
निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिमा निर्धारित ब्याजसहित सङ्कलित निक्षेप रकम सम्बन्धित बैङ्कको नेपाल राष्ट्र बैङ्कस्थित खातामा जम्मा गरिनेछ। उक्त निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । यद्यपि नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार कायम गर्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा गणना गर्न सकिनेछ ।
सङ्कलित निक्षेप रकम भुक्तानी मितिअघि सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रि–म्याच्योर भुक्तानी गर्न पाइने छैन ।