अर्घाखाँची, १२ असार । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ ।
व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो ।
कार्यालयको अगुवाइमा सामुदायिक वन, निजी जग्गा तथा अन्य उपयुक्त क्षेत्रमा रोपण सुरु भएको हो । किसानलाई कार्यालयले प्राविधिक परामर्श पनि दिने गरेको छ ।
वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार टिमुरखेतीलाई अभियानकै रूपमा अघि बढाइएको छ । “कृषक तथा स्थानीयलाई यसतर्फ आकर्षित गरी उनीहरूको आय बढाउनु अभियानको उद्देश्य हो,” उहाँले भन्नुभयो, “५०० भन्दा बढी बिरुवा रोपण गर्ने कृषक तथा समूहलाई उनीहरूका घरमा नै बिरुवा पुर्याउने व्यवस्था मिलाइएको छ ।”
सन्धिखर्क नगरपालिकाको दुर्गाफाँट, भूमिकास्थान नगरपालिकाको पोखेडाँडा, शितगङ्गा नगरपालिकाको डोहोटे तथा मालारानी गाउँपालिकाका खन र मथुरालगायत क्षेत्रमा नर्सरीमा बिरुवा उत्पादन हुँदै आएको छ ।