मोरङ, २ जेठ । पछिल्लो समय युवाहरू रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय बनिरहुनुभएको छ ।
वैदेशिक रोजगारीमा नगइ २५ वर्षीय राजा पुर्ख्यौली पेसाबाटै दैनिक दुई हजारभन्दा धेरै स्वदेशमै आम्दानी गरिरहनुभएको छ । सुनसरीको दुहबी नगरपालिका–७, भलुवाका २५ वर्षीय राजा ठाकुर विगत ८ वर्षदेखि कपाल काट्ने (हजाम) पेसामा सक्रिय हुनुहुन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि एसएलसी उत्तीर्णलगत्तै आफूले यो पेसा अङ्गालेको राजा ठाकुर बताउनुहुन्छ । बुबा रञ्जित ठाकुर र हजुरबुबाबाट गाउँमै यो सीप सिकेका राजाले अहिले यसैलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाउनुभएको छ ।
आर्थिक अभावका कारण बीचमै पढाइ छाड्न बाध्य बन्नुभएका राजामा पढ्ने इच्छा भने मरेको थिएन । त्यसैले ८ वर्षको अन्तरालपछि उहाँले पुनः शिक्षा हासिल गर्ने अठोट गर्नुभयो । हालै उहाँले बेलबारी–११ स्थित रहेको लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षा सङ्कायबाट कक्षा १२ को परीक्षा दिनुभएको छ । दिनभर कैँची र काइँयोसँग खेल्ने राजा बिहान–बेलुका भने आफ्नो शैक्षिक भविष्य सुधार्न व्यस्त रहनुहुन्छ ।
हाल मोरङको बेलबारी–११ स्थित मामा शिवनाथ ठाकुरको सैलुनमा काम गरिरहेका राजाले यस पेसाबाट सम्मानजनक आम्दानी गरिरहेको बताउनुहुन्छ । “दैनिक एक हजार ५०० रूपैयाँदेखि दुई हजार ५०० रूपैयाँसम्म कमाई हुन्छ”, उहाँ भन्नुहुन्छ, “आफ्नै माटोमा पसिना बगाउन सके विदेशमा भन्दा राम्रो कमाई यहीँ सम्भव छ ।” उहाँले आफू मात्र कमाउनुहुन्न, आफ्ना तीन जना साथीहरूलाई पनि यही पेसा सिकाउँदै रोजगारीको अवसर दिनुभएको छ । चार जनाको परिवार (बुबा, आमा, बहिनी र आफू)को जिम्मेवारी सम्हाली रहनुभएका उहाँलाई आफ्नो काममा गर्व छ ।
धेरै युवा साथीहरू राहदानी बोकेर म्यानपावर धाइरहेका बेला राजाको सोच भने फरक छ । उहाँ भन्नुहुन्छ, “म विदेश जान्नँ, बरु यही पेसालाई थप आधुनिक बनाएर स्वदेशमै केही गर्ने ऊर्जाका साथ अघि बढिरहेको छु ।” पुर्ख्यौली पेसालाई लाजको विषय नबनाई सीप र मिहिनेत गर्ने हो भने आर्थिक समृद्धिका लागि विदेशिनु पर्दैन भन्ने गतिलो सन्देश राजा ठाकुरले दिनुभएको बेलबारी उद्योग वाणिज्य सङ्घका सचिव रूपेश श्रेष्ठ बताउनुहुन्छ ।