हरिपुरमा इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई जना घाइते

1

सर्लाही, २ जेठ । इँट्टाको चाङले थिच्चिएर सर्लाहीको हरिपुरमा एक भारतीयसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्रबार साँझ हरिपुर नगरपालिका–५, मजुर्वा गाउँमा रहेको कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिच्चिएर तीन जनाको मृत्यु भएको हो । इँट्टाको चाङले थिच्चिएर भारतको लखिमपुर जिल्लाका ३५ वर्षीय अङ्गद कुमार, सर्लाहीको गोडैता नगरपालिका–७, रामवनका ५० वर्षीय फिताइ मन्सुर र गोडैता नगरपालिका–९, का ३५ वर्षीय शम्भु राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट थप दुई जना घाइतेको उद्धार गरेको छ । घाइते हुनेमा मलङ्गवा नगरपालिका–७, का ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सोही घटनामा परी घाइते मलङ्गवा नगरपालिका–७, का ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...