गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

9
  • युवराज पाण्डे

नेपालगञ्ज, १ जेठ । पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवर्द्धनसँगै सहरको सौन्दर्य बढाएका छन् ।

साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन्भने हरियालीले नगरको शोभा बढाएको छ । रातानीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । ‘क्लिन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’का अध्यक्ष विनोद कर्ण पूर्वाधार विकाससँगै हरियाली थपिएकामा दङ्ग हुनुहुन्छ ।

हरियाली विस्तार अझै आवश्यक भएको उहाँ बताउनुहुन्छ । सुर्खेतरोड, न्युरोड, भानुचोक र गणेशमान चोकलगायत क्षेत्रमा लगाइएका गुलमोहर तथा बेगमबेलीले नगरको चमकमात्र बढाएका छैनन् अपितु यिनले पानीका स्रोत जोगाउनका साथै पर्यावरणीय सन्तुलन कायम गर्न सघाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट अत्यधिक गर्मीका लागि परिचित नेपालगञ्जमा हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताउनुहुन्छ । “हामीले ‘हिट वेभ’ व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरिरहेका छौँ । यसका साथै हरियाली प्रवद्र्धनका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ”, उहाँले रासससँग भन्नुभयो । यहाँ घर निर्माण गर्दा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने नीति लागू गरिएको छ ।

नगरको हरियालीले जलवायु परिवर्तनका असर घटाउनका साथै अक्सिजन उत्पादन तथा प्रदूषण नियन्त्रणमा टेवा पुग्ने भएकाले उपमहानगरपालिकाले पार्क व्यवस्थापनलाई जोड दिएको छ । हालसम्म शीतलचिनीका करिब १५ हजार तथा राक्षवृक्ष, नीमलगायतका करिब तीन हजार बिरुवा रोपिएका छन् ।

हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा नेपालगञ्जमा अव्यवस्थित रूपमा रहेका रुख तथा बिरुवाको स्थान अहिले व्यवस्थित हरियालीले लिएको बताउनुहुन्छ । मासिएका आँपका बगैँचा र तालतलैयाको परिपूर्ति यहाँका बोटबिरुवाले गरेका उहाँको ठम्म्याइ छ ।

तत्कालीन ब्रिटिश–इण्डियाबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएपछि प्रधानमन्त्री जङ्गबहादुर राणाले लखनउस्थित हजरतगञ्जको नमुनाका रूपमा नेपालगञ्ज बसाएको अभिलेख पाइन्छ । उहाँले सुब्बा सिद्धिमान राजभण्डारीलाई बस्ती बसाउन खटाएपछि हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ १०८ फिट चौडा सडकको दायाँ–बायाँ घर निर्माण गरिएको अभिलेखमा छ ।

अहिलेको त्रिभुवन चोकलाई सुरुमा ‘चोकबजार’ भनिन्थ्यो । यही चोकबाट पूर्व–पश्चिम लाइन, इदगाह रोडलगायत क्षेत्रमा पसलकबलसहितका घर निर्माण गरेर नेपालगञ्ज सहर विस्तार गरिएको हो । यहाँको त्रिभुवन चोक नगरको मुख्य केन्द्रका रूपमा परिचित छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...