सर्लाही, १४ वैशाख । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा)को आक्रमणबाट मृत्यु भएको हो ।
बँदेलको आक्रमणबाट घाइते हुनुभएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
प्रहरी टोलीले मध्यराति नै घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको छ । जङ्गली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरेपछि थिङ केही दिनदेखि मकै रेखदेखका लागि खेतमा बस्दै आउनुभएको थियो ।