राजनीतिबाट नीतिसम्म : उद्योग, श्रम र उपभोक्ता हितमा रहबर अन्सारीको नयाँ मोडल

8

काठमाडौँ, २७ वैशाख । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति बनेपछि रहबर अन्सारी अहिले संसदीय राजनीति, नीतिगत बहस र राज्य संयन्त्रबिच आफूलाई स्थापित गर्ने प्रयासमा हुनुहुन्छ ।

चुनाव जितेको केही महिनामै संसदीय समितिको नेतृत्वमा पुगेका अन्सारीले आफ्नो राजनीतिक यात्रालाई ‘तीव्र गतिमा अघि बढिरहेको प्रक्रिया’का रूपमा व्याख्या गर्नुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले चुनावी राजनीति, संसदीय अभ्यास, दलगत समन्वय, नीतिगत हस्तक्षेप, उद्योग–व्यवसाय, श्रम, उपभोक्ता हित र राज्य संयन्त्रको कार्यशैलीसम्मका विषयमा खुला धारणा राख्नुभयो ।

उहाँले चुनावी यात्रादेखि संसदीय भूमिकासम्मको अनुभव, समितिको प्रारम्भिक काम, उद्योग–वाणिज्य–श्रम–उपभोक्ता क्षेत्रका चुनौती, बन्द उद्योगहरूको भविष्य, नीतिगत कमजोरी, राजनीतिक समन्वय, उद्योगी–व्यवसायीप्रतिको दृष्टिकोण तथा संसदीय समितिको कार्यशैलीमा ल्याउन खोजिएको नयाँ अभ्यासबारे विस्तृत धारणा राख्नुभयो ।

उहाँका अनुसार चुनाव ‘एकदमै डाइनामिक यात्रा’ हो, जहाँ उम्मेदवारको सम्पूर्ण ध्यान जनतामाझ पुग्ने र मत आफ्नो पक्षमा पार्नेमा केन्द्रित हुन्छ । तर, निर्वाचन सकिएपछि सांसदको भूमिका फरक हुने उहाँको भनाइ छ ।

“शपथ ग्रहणपछि हामी विधायिकाको भूमिकामा आयौँ । पहिलो अधिवेशन चल्यो । त्यसबिच धेरै माननीय सदस्यहरूसँग चिनजान गर्ने मौका भयो। पार्टीको विचार, सिद्धान्त र आगामी पाँच वर्षको दृष्टिकोण बुझ्ने अवसर मिल्यो । त्यसैबिच समितिको सभापतिको जिम्मेवारी आयो,” उहाँले भन्नुभयो ।

उहाँले आफ्नो व्यक्तिगत र राजनीतिक विकाससँगै अघि बढेको उल्लेख गर्दै त्यसलाई राज्यको समग्र विकाससँग जोड्न पाएको अवसरका रूपमा लिएको बताउनुभयो ।

“धेरै कुरा चाँडै भइरहेको छ । तर, त्यससँगै अध्ययन, अनुभव आदान–प्रदान र नीतिसँग जोड्ने काम पनि भइरहेको छ,” उहाँले भन्नुभयो ।

सभापति अन्सारीले समितिको नेतृत्व सम्हालेपछि भएका प्रारम्भिक बैठकहरूको अनुभव पनि साझा गर्नुभयो । उहाँका अनुसार पहिलो बैठक समिति सभापतिको निर्वाचनसँग सम्बन्धित थियो भने त्यसपछिको बैठकलाई उहाँले ‘ओरिएन्टेसन बैठक’ का रूपमा अघि बढाउनुभयो ।

उहाँले समितिमा अधिकांश सदस्य नयाँ भएकाले समितिको कार्यक्षेत्र, विगतका अभ्यास, चुनौती र अनुभवबारे जानकारी गराउने उद्देश्यले पूर्वसभापतिलाई समेत बोलाइएको बताउनुभयो ।

समितिले विगतमा कस्ता काम गर्‍यो, कस्ता चुनौती भोग्यो, कस्ता सहजता थिए भन्नेबारे पूर्वसभापतिले अनुभव सुनाउनुभयो । माननीय सदस्यहरूले जिज्ञासा राख्नुभयो, सुझाव दिनुभयो,” उहाँले भन्नुभयो ।

दोस्रो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री, सचिव र पदाधिकारीलाई बोलाएर मन्त्रालयको कार्यक्षेत्र, अधिकार, कार्ययोजना र प्रगति विवरणबारे छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको प्रत्यक्ष सम्बन्ध दुई मन्त्रालयसँग छ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम मन्त्रालय । त्यसैले प्रारम्भिक चरणमा यी मन्त्रालयले कस्ता काम गरिरहेका छन्, आगामी दिनमा कुन दिशामा जान खोजिरहेका छन् भन्ने बुझ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

अन्सारीले आजको औद्योगिक परिवेश ४० वर्षअघिको भन्दा पूर्ण रूपमा फरक भइसकेको बताउनुभयो । आज एआईको जमानामा उद्योग चलिरहेका छन् । ग्रीन एनर्जी, ग्रीन प्रोडक्सनको कुरा भइरहेको छ । टेक्नोलोजी, मेशिनरी, आउटपुट सबै फरक भइसके,” उहाँले भन्नुभयो ।

सभापति अन्सारीले विगतमा उद्योगी–व्यवसायीलाई दुःख दिने, त्रासमा राख्ने वा दोहन गर्ने उद्देश्यले नीतिमा जानाजानी ‘लुपहोल’ राखिएको आरोप लगाउनुभयो । अन्सारीले विगतका संसदीय समितिहरूको अभ्यासप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिले समितिहरूले प्रतिवेदन त बनाउँथे, तर ती मन्त्रालयमा पुगेर थन्किने अवस्था थियो ।

समितिलाई प्रतिवेदनको लाइब्रेरी बनाइएको थियो,” उहाँले भन्नुभयो, “अब भने समितिलाई समाधान निकाल्ने संयन्त्रका रूपमा विकास गर्नुछ ।”

सभापति अन्सारीले विगतमा संसदीय समितिहरू प्रभावशाली उद्योगपति, बिचौलिया र इन्ट्रेस्ट ग्रुपको प्रभावमा सञ्चालन भएको आरोपसमेत लगाउनुभयो ।

“धेरै निर्णयहरू प्रभाव पार्न सक्ने समूह र उद्योगपतिबाट सञ्चालित थिए,” उहाँले भन्नुभयो । तर, आफू कुनै एक उद्योगपति वा समूहको हितमा काम नगर्ने उहाँको भनाइ छ । “म कुनै अमुक उद्योगपति वा अमुक समूहको इन्ट्रेस्टमा काम गर्दिनँ । समग्र रूपमा काम गर्नुपर्छ,” उहाँले भन्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...