सुनसरी, १ वैशाख । सुनसरीको इटहरीमा सोमबारदेखि सुरू भएको १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा युवा समाज मोरङ प्रवेश गरेको छ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा सुरू भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न उद्घाटन खेलमा जस्ट जोन एफसी, नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो खेलको चार मिनेटमा युवा समाजका श्रीजन गौतमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३५औँ मिनेटमा नाइजेरियाका डिबोला हामजामले गोल गर्दै खेललाई एक(एकको बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ एक–एकको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युवा समाजका खेलाडी सुजन डङ्गोलले ३८औँ मिनेटमा थप गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ४२औँ मिनेटमा दोर्जे तामाङले गोल थपेपछि मोरङले जित सुनिश्चित गरेको हो ।
अन्तिममा खेलको अतिरिक्त थप गरिएको पाँच मिनेटको समयमा नाइजेरियाका खेलाडी एडिगन पिटरले एक गोल फर्काएका थिए । आजको खेलको ‘प्लेयर अफ द म्याच’ दोर्जे तामाङ घोषित भएका छन् । उनलाई नगद १० हजार रूपैयाँ प्रदान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले बताएका छन् । आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता छ ।
विजेता टोलीले १० लाख रूपैयाँ तथा उपविजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रूपैयाँ, सर्वाधिक गोलकर्तालाई २५ हजार रूपैयाँ तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गत वर्षको संस्करणमा मच्छिन्द्र क्लब, काठमाडौँले उपाधि जितेको थियो भने चर्च ब्वाइज युनाइटेड उपविजेता बनेको थियो ।