मङ्गलेखानीमा खेलमैदान निर्माण

8

म्याग्दी, २९ जेठ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।

मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रूपैयाँ बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाख रूपैयाँभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष फमान छन्त्यालका अनुसार ४४ लाख ३० हजार रूपैयाँको लागतमा निर्माण भएको खेलमैदान बनाउन दाताहरुले २६ लाख ९० हजार रूपैयाँ, रघुगङ्गा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुँदी पावरले पाँच लाख रूपैयाँ र ठुलोखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक संयुक्त ऊर्जा कम्पनीले दुई लाख ५० हजार रूपैयाँ प्रदान गरेका हुन् ।

स्व डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उहाँका परिवारले दुई लाख रूपैयाँ सहयोग गर्नुभएको छ । अन्य सहयोग प्रवास र पूर्वखेलाडी तथा स्थानीयवासीबाट जुटाएको अध्यक्ष छन्त्यालले बताउनुभयो । सोह्र मिटर चौडा र ३० मिटर लामो खेलमैदानमा प्यारापिटलगायत दर्शकका निम्ति आवश्यक संरचना पनि निर्माण भएका छन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...