तस्बिर खिचेर जीविका चलाउँदै ‘जिनियस’

0

महेन्द्रनगर, २९ जेठ । कैलालीको भजनी नगरपालिका–६ बसाहाका २३ वर्षीय जिनियस चौधरीले दैनिकजसो दोधारा चादँनी झोलुङ्गे पुल धाउन थालेको तीन वर्ष भयो ।

बुबा परशुराम चौधरीसँगै कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्ने जिनियसको दैनिकी नै काँधका क्यामेरा बोकेर यहाँको पर्टयकीय गन्तव्य झोलुङ्गे पुल जाने त्यहाँ आउने पर्यटकको आग्रहअनुसार तस्बिर र भिडिओ कैद गर्नु हो । कैलालीको टीकापुरमा तीन महिना फोटो र भिडिओग्राफी तालिम लिएपश्चात् महेन्द्रनगर र आसपासका पर्यटकीयस्थलमा पछिल्लो समय फोटो खिच्ने युवायुवतीको भीडभाड बढ्दै गएको देखिन्छ ।

त्यहीँ भीडमा दैनिक महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुलमा भेटिने जिनियसले दैनिक फोटोग्राफीबाट एक हजार पाँच रूपैयाँ आम्दानी गर्दै आउनुभएको छ । “पुल अवलोकनका लागि आउने प्रायः आन्तरिक पर्यटक तस्बिर र भिडियो खिच्न लगाएबापत प्रतिफोटो २० रूपैयाँ र भिडिओको ५० रूपैयाँ लिन्छु”, जिनियसले रासससित भन्नुभयो, “फोटोग्राफी अहिलेका लागि मेरो पेसा नै हो ।”

झोलुङ्गे पुलका साथै महाकाली नदीमा रहेको चार लेनको पक्की पुल र भाइरल रोडमा आउने पर्यटकलाई लक्षित गरी यहाँ क्यामेराम्यान सक्रिय हुन्छन् । “झोलुङ्गे पुलको म एक्लो क्यामेराम्यान हुँ, यहाँ आउने अधिकांश युवायुवती फोटो खिच्न मसित आउँछन्”, उहाँले भन्नुभयो, “साउनदेखि कात्तिकसम्म यहाँ आन्तरिक तथा पर्यटकको भीड हुन्छ, त्यो बेला दैनिक दुई हजार रूपैयाँसम्म आम्दानी हुन्छ ।”

महेन्द्रनगरबाट डिएसएलआर क्यामेरा भाडामा लिएर जिनियसजस्तै २० जनाभन्दा बढी क्यामेराम्यान अहिले महकाली नदीको चार लेनको पक्की पुलमै प्रायः भेटिन्छन् । त्यहाँ बिदाको दिन शनिबार र आइतबार पर्यटकको निकै भीडभाड हुन्छ । प्रायः सूर्यास्त हुने समयमा पर्यटक धेरै आउँछन् । उहाँले भन्नुभयो, “पर्यटकीयस्थलमा भाडाका क्यामेरा उपलब्ध हुन थालेको केही वर्ष भएको छ ।”

उहाँले दैनिक हुने कमाइको ५० प्रतिशत रकम क्यामेराको भाडाबापत साहुलाई दिने शर्तमा क्यामेरा लिनुभएको छ । क्यामेराकै कमाइबाट पल्सर बाइक पनि खरिद गरेको तथा शनिबार र आइतबार चार लेनको पक्की पुलमा भीडभाड हुने हुँदा त्यहाँ जाने र बाँकी दिन झोलुङ्गे पुलमै रहने चौधरीको अहिले दैनिकी छ ।

महेन्द्रनगरस्थित जेसिज माध्यमिक विद्यालयबाट एसइईसम्मको अध्ययन गरेका चौधरीले भविष्यमा क्यामेरा खरिद गरी अझ व्यावसायिक रूपमा फोटोग्राफीमा सक्रिय रहने योजना सुनाउनुभयो ।

अहिले पर्यटकीय गन्तव्यमा फोटो खिचाउने लहर नै चलेको छ । फोटो खिचेर उहाँहरूको मोबाइलमा पठाइदिएपछि फोटोबापतको रकम प्राप्त हुने चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय युवायुवती फोटोकै लागि पनि झोलुङ्गे पुल अवलोकनका लागि आउँछन् ।”

दैनिक १० किलोमिटर साइकल चढेर चौधरी फोटोग्राफीका लागि महेन्द्रनगरबाट पिपरियास्थित झोलुङ्ग पुल पुग्छन् । उहाँको फोटोको कमाइले बुबालाई घरखर्च चलाउन राहत भएको छ । उहाँका बुबा १९ वर्षदेखि महेन्द्रनगरमा घर बनाउने काम गर्दै आउनुभएको छ । पुल अवलोकनका लागि मुलुकका विभिन्न स्थानबाट ठुलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...