कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक

12
  • तेजन खड्का

काठमाडौँ, २९ जेठ । विश्व फुटबलको सबैभन्दा ठुलो महोत्सव सुरू भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् । चार वर्षको प्रतीक्षापछि आउने यो प्रतियोगिता खेल मात्र होइन, करोडौँ मानिसको भावना, आशा र उत्सवसँग जोडिएको विषय पनि हो ।

नेपालमा पनि विश्वकपको रौनक बिस्तारै चुलिँदै गएको छ । चोक–चोकमा फुटबलको चर्चा छ, सामाजिक सञ्जालमा समर्थकहरूबिच बहस चलिरहेको छ, र घर–घरमा आफ्ना प्रिय टोलीका पक्षमा अनुमान र अपेक्षा व्यक्त भइरहेका छन् ।

फुटबलको यो ज्वारभाटाले कलाकारहरूलाई पनि उत्तिकै छोएको छ । अभिनय, संगीत र मनोरञ्जनको व्यस्त तालिकाबिच उनीहरू पनि विश्वकपको पर्खाइमा छन् ।

कसैले बाल्यकालदेखि एउटै टोलीलाई साथ दिँदै आएका छन् भने कसैको समर्थन मनपर्ने खेलाडीका कारण बनेको छ । धेरै कलाकारको रोजाइ अर्जेन्टिना देखिए पनि ब्राजिल र पोर्चुगलका समर्थकहरू पनि कम छैनन् ।

नायिका रेखा थापाका लागि विश्वकप भन्नासाथ सबैभन्दा पहिले पोर्चुगल सम्झनामा आउँछ । उहाँ आफूलाई क्रिस्टियानो रोनाल्डोको कट्टर प्रशंसक मान्नुहुन्छ । रोनाल्डोको खेल, अनुशासन र निरन्तरताले आफूलाई प्रभावित बनाएको उहाँको भनाइ छ ।

“मलाई पोर्चुगलको खेल एकदमै मनपर्छ । रोनाल्डो मेरो प्रिय खेलाडी हुन् । जित होस् वा हार, म सधैँ पोर्चुगलकै समर्थक हुँ,” उहाँ भन्नुहुन्छ । यद्यपि, ब्राजिलका नेमारको खेल पनि उहाँलाई उत्तिकै आकर्षक लाग्छ । फुटबलमा व्यक्तिगत प्रतिभा र टिमवर्क दुवै महत्त्वपूर्ण हुने भएकाले आफू खेलाडीको कला पनि उत्तिकै रुचिका साथ हेर्ने बताउनुहुन्छ ।

गायिका ज्योति मगरको दृष्टिकोण भने केही फरक छ । उहाँ कुनै एउटा विदेशी टोलीको समर्थकभन्दा पनि नेपाल एक दिन विश्वकपमा पुग्न सकोस् भन्ने सपना देख्नुहुन्छ ।

“हामी सबैले कुनै न कुनै देशलाई समर्थन गर्छौँ, तर मेरो सबैभन्दा ठुलो चाहना नेपाल विश्वकपमा पुगेको हेर्नु हो,” उहाँ भन्नुहुन्छ । व्यस्त साङ्गीतिक कार्यक्रमका कारण प्रारम्भिक चरणका खेल धेरै हेर्न नपाए पनि क्वार्टरफाइनल र सेमिफाइनलदेखि भने खेल छुटाउनुहुन्छ । उहाँका अनुसार विश्वकपले मनोरञ्जन मात्र होइन, नेपाली खेलाडीलाई पनि नयाँ सीप र रणनीति सिक्ने अवसर दिन्छ ।

अभिनेता भुवन केसी अर्जेन्टिनाका पूराना समर्थक हुन् । डिएगो म्याराडोनाको जादुमयी खेल देखेर अर्जेन्टिनाप्रति आकर्षित हुनुभएका उहाँ अहिले पनि त्यही टोलीलाई समर्थन गरिरहनुभएको छ ।

“म्याराडोनाको समयदेखि अर्जेन्टिनाको समर्थक हुँ । अहिले मेस्सीका कारण त्यो माया झन् बढेको छ,” उहाँ भन्नुहुन्छ । यद्यपि, उहाँले राम्रो खेल प्रस्तुत गर्ने टोलीलाई पनि सम्मान गर्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँका अनुसार विश्वकपको वास्तविक सौन्दर्य उत्कृष्ट खेलमा हुन्छ ।

गायक डम्बर नेपालीका लागि पनि अर्जेन्टिना नै पहिलो रोजाइ हो ।बाल्यकालदेखि नै अर्जेन्टिनाको खेल शैली मन परेकाले आफ्नो समर्थन कहिल्यै परिवर्तन नगरेको उहाँ बताउनुहुन्छ ।

“जित–हार खेलको नियम हो । तर, अर्जेन्टिनाको खेल हेर्दा छुट्टै आनन्द आउँछ,” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार विश्वकपले संसारभरका मानिसलाई एउटै भावनामा बाँध्ने क्षमता राख्छ ।

नायिका सिर्जना सुब्बा भने फुटबललाई पुस्तान्तरणको दृष्टिले हेर्नुहुन्छ । उहाँका लागि मेस्सी विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन् । देशका लागि उपाधि जितेपछि मेस्सीले आफ्नो करियरलाई पूर्णता दिएको उहाँ मान्नुहुन्छ ।

“मेस्सीको खेलमा खोट लगाउने ठाउँ छैन । उनले क्लब र देश दुवैका लागि आफूलाई प्रमाणित गरिसकेका छन्,” उहाँ भन्नुहुन्छ । तर, फुटबल केवल पुराना स्टारको खेल मात्र नभएको उहाँको तर्क छ । नयाँ पुस्ताका खेलाडीले पनि आफ्नो पहिचान स्थापित गर्नुपर्छ भन्ने उहाँ मान्नुहुन्छ ।

उहाँले अभिभावकलाई पनि आफ्ना सन्तानलाई खेलप्रति प्रेरित गर्न आग्रह गर्नुभएको छ । “फुटबलमा भविष्य छैन भनेर बच्चाहरूलाई रोक्ने होइन, उनीहरूलाई अवसर दिने हो,” उहाँको भनाइ छ ।

कलाकार दीपकराज गिरी आफूले सन् १९९० देखि विश्वकप हेर्न थालेको सम्झनुहुन्छ । उहाँका अनुसार त्यो समय मनोरञ्जनका साधन सीमित भएकाले विश्वकपको आकर्षण अझ बढी थियो ।

“हामी निद्रा मारेर खेल हेथ्र्यौँ । त्यो समयको उत्साह अहिले पनि सम्झिन्छु,” उहाँ भन्नुहुन्छ । अर्जेन्टिनाका समर्थक भए पनि उहाँ अन्य बलिया टोलीलाई पनि उत्तिकै सम्मानका साथ हेर्नुहुन्छ । फ्रान्स, पोर्चुगल, स्पेन र जर्मनीलाई उपाधिका दाबेदारका रूपमा लिने उहाँ ब्राजिल भने विगतको तुलनामा केही कमजोर देखिएको बताउनुहुन्छ ।

अभिनेता विजय बरालको फुटबल प्रेम भने ब्राजिलसँग जोडिएको छ । उहाँले विश्वकप हेर्न थालेकै बेला ब्राजिलले उपाधि जितेको थियो । त्यही क्षणदेखि ब्राजिल उहाँको प्रिय टोली बनेको हो ।

“सानो हुँदा सबैले मलाई रोनाल्डो भनेर जिस्काउँथे । त्यसैले पनि ब्राजिलप्रति झन् लगाव बढ्यो,” उहाँ हास्दै भन्नुहुन्छ । उहाँका अनुसार विश्वकप खेलभन्दा पनि भावनाको उत्सव हो । आफूले समर्थन गरेको टोली बाहिरिएपछि भने खेल हेर्ने उत्साह अलि कम हुने उहाँ स्वीकार्नुहुन्छ ।

नायिका वर्षा राउत पनि ब्राजिलकै समर्थक हुनुहुन्छ । फुटबलमा धेरै चासो नरहे पनि सन् २००२ मा ब्राजिलले उपाधि जितेपछि उहाँ उक्त टोलीको समर्थक बन्नुभएको हो ।

“म नियमित रूपमा सबै खेल हेर्दिनँ, तर ब्राजिल खेल्दा भने चासोका साथ हेर्छु,” उहाँ भन्नुहुन्छ । यसपटक पनि ब्राजिलले राम्रो प्रदर्शन गरोस् भन्ने उहाँको अपेक्षा छ ।

नायिका बिनिता कार्कीको रोजाइ अर्जेन्टिना हो । उहाँलाई फ्रान्सको खेल पनि उत्तिकै मनपर्छ । कुनै टोलीलाई समर्थन गर्नुको अर्थ उपाधि जित्नैपर्छ भन्ने नभइ राम्रो खेल देख्न पाउनु पनि महत्त्वपूर्ण भएको उहाँ बताउनुहुन्छ ।

“आफूले समर्थन गरेको टोली सकेसम्म धेरै अघि बढोस् भन्ने चाहना त हुन्छ । तर, खेलको सुन्दरता राम्रो प्रदर्शनमा हुन्छ,” उहाँ भन्नुहुन्छ ।

कलाकारहरूका अभिव्यक्तिमा फरक–फरक टोलीको नाम आए पनि एउटा समानता स्पष्ट देखिन्छ–फुटबलप्रतिको प्रेम । कसैलाई मेस्सी मन पर्छ, कसैलाई रोनाल्डो । कोही ब्राजिलको आकर्षक शैलीका प्रशंसक छन् भने कोही अर्जेन्टिनाको जुझारु स्वभावका । तर, सबैको चाहना एउटै छ, विश्व फुटबलको यो महाउत्सवले रोमाञ्चक खेल, अविस्मरणीय क्षण र नयाँ नायकहरू जन्माओस् ।

नेपाल विश्वकप खेल्ने सपना अझै टाढा भए पनि विश्वकपको उत्साह भने नेपाली समर्थकका लागि सधैँ नजिकको विषय बनेको छ । यहीँ उत्साह, यही प्रतीक्षा र यही प्रेमले हरेक चार वर्षमा विश्वकपलाई खेलभन्दा ठुलो उत्सव बनाउने गरेको छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...