काठमाडौँ, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु । काठमाडौँदेखि दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई । दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनुभएन ।”
उहाँका अनुसार भ्रमणअघि परराष्ट्रमन्त्रीले पत्रकारहरूसँग पछि बोल्ने बताएको भए पनि औपचारिक वार्तामा सीमा विवादबारे कुनै छलफल नभएको देखिएको छ । उहाँले नेपाली पक्षबाट जारी गरिएका प्रेस विज्ञप्तिमा समेत सीमा विवादसम्बन्धी विषय उल्लेख नभएको दाबी गर्नुभयो ।
सांसद ओलीले दिल्ली भ्रमणपछि काठमाडौँ फर्किएर जारी गरिएको प्रेस नोटमा पनि सीमा विवादबारे कुनै कुरा समावेश नभएको उल्लेख गर्नुभयो । साथै, पत्रकारहरूले सोधपुछ गरेपछि मात्रै सीमासम्बन्धी विषयमा प्रतिक्रिया दिन मन्त्री बाध्य भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “यतिसम्म कि नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन । भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो । काठमाडौँ फर्किएपछि एक प्रेस नोट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन । पत्रकारले पछि सोधेपछि केही बोल्न बाध्य हुनुभयो । संसद्मा पनि उहाँले सीमा विवादको विषय उठाउनुभएन । खाली सीमा व्यवस्थापनको नियमित काम जस्तो जङ्गी पिल्लरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनुभयो ।”
उहाँले संसद्मा समेत परराष्ट्रमन्त्रीले सीमा विवादलाई प्राथमिकतामा नराखी केवल नियमित सीमा व्यवस्थापन, जस्तै जङ्गी पिल्लरको व्यवस्थापन र बैठकजस्ता विषय मात्र उठाएको टिप्पणी गर्नुभयो ।