नेपाली महिला क्रिकेट टोलीको बिदाई

10

काठमाडौँ, २१ फागुन । युगाण्डामा हुने चारदेशीय महिला टी–२० आई श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ ।

बुधबार नेपाल क्रिकेट संघ क्यानले मूलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यही मार्च ८ देखि युगाण्डामा हुने चारदेशीय महिला टी–२०आई श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरेको हो ।

श्रृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता रहने छ ।

बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव लिनका लागि यो खेलले सहयोग पुग्ने बताउनुभयो । महिला क्रिकेटमा पहिलेभन्दा अहिले चासो बढेको भन्दै अब जित र हारको मूल्यांकन सुरु भइसकेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौँ । खेलाडीहरुले जति नयाँ ठाउँमा खेल्दै गयो त्यति नयाँ अनुभवहरु लिन सकिन्छ । महिला क्रिकेटमा पहिलेभन्दा अहिले चासो बढेको छ । पहिला खेल्दा खासै मतलब हुँदैनथ्यो । तर, अब जित र हारको मुल्यांकन सुरु भइसकेको छ । हामी तपाईहरूमा विश्वास गर्छौँ, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा छ र शुभकामना पनि दिन चाहान्छु ।’

त्यस्तै, टिमकी कप्तान इन्दु बर्माले फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम गरेको र टिमको तयारी एकदमै राम्रो भएको भन्दै यसपटक राम्रो क्रिकेट खेलेर फर्कने बताउनुभयो ।

नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्ने छ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै, फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...