नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहना छ : बुफोन

46

काठमाडौँ, १८ फागुन । विश्वकप विजेता इटालियन लेजेन्ड गोलरक्षक जियानलुइजी बुफोनले नेपाले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन आइतबार नेपाल आउनुभएका उहाँले नेपाले पनि विश्वकप खेलेको हेर्न चाहेको भन्दै त्यसका लागि धेरै राम्रो मेहनत र लगानी आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ म नेपालले पनि विश्वकप खेलेको हेर्न चाहन्छु । त्यसका लागि धेरै राम्रो मेहनत र लगानी गर्नुपर्छ स्टेडियममा र त्यहाँसम्म पुग्नको लागि ठुलो सपना देख्नुपर्छ ।’

यस्तै, उहाँले नेपालको झण्डा देख्दा अनौठो र अलग लागेको भन्दै यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको बताउनुभयो । नेपाल आएर आफ्नो सपना साकार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘म युवा हुँदा नक्सा हेरेको थिए । नेपालको झण्डा देख्दा अनौठो लाग्यो । युनिक फ्ल्याग छ । यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको छ । मेरो लागि यहाँ आउनु ड्रिम कम ट्रु हो । मलाई नेपाल पछि फेरि आएर यहाँको संस्कृति र मन्दिरहरु हेर्न मन छ । समय मिलाए फेरि आउने छु ।’

त्यस्तै, उहाँले केपी ओली कप कसले जित्छ भनेर आफू निकै उत्साहित रहेको पनि बताउनुभयो ।

केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुने छ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनुहुने छ । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...