जीवन गिरी १०औँ वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा गोल्ड मेडलिष्ट हुनुहुन्छ । नेपालको शारीरिक सुगठन एवम् बडी बिल्डिङतर्फको ठुलो प्रतियोगिता धर्मश्रीमा सन् १९९९ मै उपाधि जित्नुभएका उहाँ पावर लिफ्टिङको अन्तर्राष्ट्रिय जजका रुपमा पनि क्रियाशील हुनुहुन्छ ।
कपिलवस्तुमा जन्मिनुभएका उहाँ एसिया पावर लिफ्टिङ एसोसिएसनको पूर्वउपाध्यक्ष समेत भइसक्नुभएको छ । सन् २००० मा ‘मिस्टर नेपाल’ को उपाधि समेत हासिल गरिसक्नुभएका उहाँ हाल जिम सेन्टरको विस्तार साथै फिल्म अभिनयमा पनि सक्रिय हुनुहुन्छ । यसै सिलसिलामा शारीरिक सुगठन प्रतियोगिता र नेपालको अवस्थाका बारेमा नेपाल न्यूज बैंकले गिरीसँग कुराकानी गरेको छ ।
तपाईंले आफूलाई कसरी परिचित गराउन चाहनुहुन्छ ?
म पहिले कराँते खेलाडी थिएँ । कभर्डहलमा सितोरियो कराँते खेल्दा खेल्दै साथीहरुले वेटलिफ्टिङ खेल्न हौस्याए । त्यसपछि वेटलिफ्टिङ खेलतिर आएको हुँ । विस्तारै जिमतिर आएँ । जिम हुँदै अहिले बडी बिल्डिङमा सक्रिय छु ।
यो क्षेत्रमा लाग्नुभएको कति समय भयो ?
विसं.२०४५ सालदेखि यस खेलमा निरन्तर सक्रिय छु । विदेशमा बसेर डेढ दशक जिम सिकाएँ । ०५१ सालमा भैरहवामा सम्पन्न धर्मश्री प्रतियोगितामा उपाधि जितेको हुँ । त्यसपछि थप हौसला मिल्यो । विदेशमा बस्दा धेरै अनुभव बटुल्ने अवसर मिल्यो । यसैगरी इन्डियामा १९९९ मा पहिलो साउद एसियन इन्टरनेसनल खेल बडी बिल्डिङमा मैले नेपालमा मेडल भित्र्याए । नेपालमा पहिलो पटक बडी बिल्डिङमा पदक भित्र्याउने हामी नै हौँ ।
तपाईं सक्रिय रहनुभएको खेलको नेपालको अवस्था कस्तो छ ?
विशेषगरी बडी बिल्डिङको क्षेत्रमा नेपालको अवस्था राम्रो भइरहेको छ । म आफैँ पनि जिम सेन्टर खोलेर जीवन निर्वाह गरिरहेको छु । पहिला पहिला धेरै कठिन थियो, अहिले धेरै राम्रो हुँदै गइरहेको छ । बडी बिल्डिङको ठुलो प्रतियोगिता धर्मश्री यहीँ चैतको ७, ८ र ९ गते प्रज्ञा भवन कमलादीमा हुँदै छ । यसको नगद पुरस्कार नै १२ लाख रुपैयाँ छ । कुल पुरस्कार नै ५२ लाख ६० हजार रुपैयाँ बराबरको छ । पुरस्कारबाट पनि प्रमाणित हुन्छ यो खेल क्षेत्रको अवस्था कस्तो भइरहेको छ भन्ने ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता अर्थात् उपस्थिति कस्तो छ ?
नेपालमा स्ट्रेन्थ लिफ्टिङको संस्थापक म नै हुँ र वर्ल्डको मेम्बर पनि छु । स्ट्रेन्थ लिफ्टिङमा धेरै मेडलहरु जितेका छौँ । हालैमात्र श्रीलंका गएर पनि धेरै मेडलहरु लिएर आयौँ । इन्डियामा पनि वर्ल्ड च्याम्पियनसिप भएको थियो, त्यहाँबाट पनि धेरै मेडल लिएर आयौँ । किर्गिस्तानमा भएको प्रतियोगिताबाट मेडलहरु लिएर आयौँ । स्ट्रेन्थ लिफ्टिङमा नेपालले धेरै मेडलहरु प्राप्त गरिसकेको छ । यसको भविष्य राम्रो देखिँदै छ । धेरैभन्दा धेरै मेडल लिएर आएका छौँ । नेपालमा धेरै मेडल भित्र्याउनेमा स्ट्रेन्थ लिफ्टिङ पनि पर्छ । नेपालमा पनि गेम गराइसकेका छौँ । दुई वर्ष पहिले नेपालमा भएको प्रतियोगितामा किर्गिस्तान, पाकिस्तान, काजकिस्तान नेपाल र भारतका गरी अढाइसय बढी खेलाडी सहभागि भएका थिए । त्यस हिसाबले यो खेलको भविष्य राम्रो हुँदै छ ।
यी खेलहरुमा बारेमा धेरै मानिसहरु अनभिज्ञ नै छन् । खासमा के हो यो खेल ?
यसलाई आइरन खेल पनि भनिन्छ । फलाम बोक्ने खेल भनेर पनि चिनिन्छ । हिजोआज जिम नजाने युवाहरु कमै होलान । जिमसँग सम्बन्धित खेल हो यो । हिजोआज जिम खेल्न डाक्टर, इन्जिनियर, कलाकारहरु आउन थाल्नुभएको छ । फलाम उचाल्ने आइरन खेल भएकाले धेरैको आकर्षण बढ्दै गएको छ । बुढाबुढीहरु पनि आकर्षित हुनुहुन्छ । पहिले पहिले जिम भन्नेबित्तिकै गुण्डाहरुले मात्र खेल्ने खेल हो भन्ने बुझाइ थियो । अहिले सोच परिवर्तन भएको छ । अहिले स्वास्थ्यलाई राम्रो बनाउनको लागि यतातिर आकर्षण बढेको छ ।
तपाईं यो खेल क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?
मिस्टर नेपाल, धर्मश्री उपाधि जितेपछि मैले पछाडि फर्केर हेर्नु परेको छैन । म अगाडि नै बढिरहेको छु ।
यो खेलका लागि खानपानमा कत्तिको ध्यान दिनुपर्छ ?
बडी बिल्डिङमा शरीर मोटाउने र घटाउने दुवै विधि अपनाइन्छ । कसैलाई मोटाउने कसैलाई घटाउने इच्छा हुन्छ । त्यसका लागि डाइटको व्यवस्थापन गर्नैपर्छ । डाइटिङको सेड्युल फलो गर्नुपर्छ । स्ट्रेन्थ लिफ्टिङमा पनि खाने उचाल्ने भन्ने छ । डाइटिङ हुँदैन । पावरवाला खेल भएकाले यसमा दुई विधा हुने गर्दछ । तौल बढाउँदा कार्बोेहाइड्रेड धेरै खानुपर्ने हुन्छ । अर्को भनेको चिल्लो धेरै नखाने, कार्बोहाइडे«डको मात्रा घटाएर प्रोटिन बढी खाने गर्नुपर्छ । पहिला मलाई थाहा थिएन तर विदेश गएपछि मैले धेरै कुराहरु सिकें ।
विगत र अहिले खेलमा केही परिवर्तन आएको छ ?
पहिला मेरो जमानामा एक्सरसाइजभन्दा फलाम उचाल्ने काम हुन्थ्यो । आजभोलि त जिम रनिङ मेसिन हुन्छ । साइकेलिङ हुन्छ । स्ट्रिम बाथमा नुहाउने पनि हुन्छ । बक्सिङ खेल्ने काम पनि हुन्छ । पहिलाभन्दा अहिले धेरै फरक छ । पहिला खाली उचाल्ने मात्र काम हुन्थ्यो, दौडिने केही हुँदैनथ्यो । आजभोलि प्रविधिका हिसाबले पनि धेरै फरक आइसकेको छ ।
जिम जानेहरुको संख्या पनि बढेको छ नि हैन ?
अहिले स्वास्थ्य नै धन हो भन्ने सबैलाई थाहा भएको छ । त्यसले डाक्टरहरुले पनि जिम जान सल्लाह दिनुहुन्छ । डाक्टरहरु आफैँ पनि आउनुहुन्छ । फिल्मी कलाकारहरुदेखि लिएर महिलाहरु पनि जिममा आउनुहुन्छ ।
तपाईं फिल्ममा पनि देखिनुहुन्छ हैन कहिलेकाहीँ ?
मलाई पहिला पनि एक दुईवटा फिल्मको अफर आएको थियो । तर, कस्तो भयो भने सानो रोल थियो, त्यहीँ भएर खेलिन । लाज पनि लाग्ने रहेछ । त्यसपछि मलाई ‘प्रेसगन्ज’ को अफर आयो त्यसमा एउटा सानो रोलमा रहेको छु । अहिले राजेन्द्र खड्गी दाइको निर्देशनमा एउटा फिल्म बन्दैछ ‘सेभेन भिलेन’ त्यसमा मुख्य भूमिकामै देखिनेछु ।
बडी बिल्डिरहरुलाई फिल्ममा भिलेनकै रोल चाहिँ किन ?
मेरो अनुहार नै हेर्नु न भिलेन जस्तो छैन ? गुन्डा जस्तो देखिन्छु त्यहीँ भएर पनि भिलेनको रोलमा राख्ने होला । जस्तोमा सुहाउँछ त्यसमै राख्ने होला । पात्रले मागे अनुसार खेल्ने हो । जुन मान्छेलाई रेप सिन गर भनेको हुन्छ उसले साँच्चै रेप गरेको होइन नि । क्यामेराको अगाडि गर्ने मात्र त हो । मलाई एउटा फिल्ममा रेप सिन दिएको थियो । त्यसमा मैले खेल्ने इच्छा देखाएँ तर मेरो श्रीमतीले त्यस्तो सिन नखेल्नु भनेर भनिन् । किन भनेर सोधेको बलात्कारीको बुढी भन्छन् भनिन् । त्यसपछि मैले त्यो फिल्म खेलिन । उदाहरणका लागि अमरेश पुरी, सुनिल थापा दाईहरु हुनुहुन्छ उहाँहरुलाई त्यस्तै रोल दिएको हुन्छ नि ।
यो विचमा विदेशमा पनि प्रतियोगिताहरु छ कि ?
म यहीँ जुन २२ मा लन्डनमा नेपाल इन्टरनेसनल लिग बडी बिल्डिङ गेम हुँदै छ । त्यहाँ जाँदै छु । त्यहाँ हाम्रो अध्यक्ष गंगा गुरुङ हुनुहुन्छ, पुरानो टिम पनि छ उहाँहरुले मलाई बोलाउनुभएको छ । म अहिले कान्तिपुर होलिडेजको ब्राण्ड एम्बेस्टर पनि भएकाले न्युजिल्यान्ड पनि जाँदै छु ।
पछिल्लो सयम बडी बिल्डिङका खेलाडीहरुले सुईमार्फत् औषधि लिने गरेको पाइन्छ, यसले कस्तो असर गर्छ ?
यस्तो समस्या यस क्षेत्रका विद्यार्थीहरुमा सबैभन्दा धेरै पाउन थालिएको छ । म १५ वर्ष विदेशमा बसेँ, विदेशमा जिम गर्न थालेको एक महिनामा सानो सानो सुइ हातमा लगाउने गरेको पाएँ । सुइ लगाएपछि एनापोलिक हुन्छ, हार्मोन ग्रोथ हुन्छ । एनापोलिक इस्ट्रोड, टेस्टरेस्ट्रो, डिगा भन्ने धेरै औषधिहरु छन् । यसबारे मलाई थाहा थिएन । इस्ट्रोड र अन्य औषधि मिलाएपछि मान्छेको तीन महिनामा नै मसल निस्किने रहेछ । मान्छे नै अर्कै हुन्छ । नेपालमा पनि त्यसको प्रयोग सुरु भएको छ । रोक्न सकिन्न । खेलकुद परिषदबाट नै प्रयास गरिनुपर्छ । मैले भन्दा साथीहरु रिसाउनुहुन्छ । स्ट्रोरेड लगाउनु राम्रो होइन, ग्रोथ हार्मोन राम्रो होइन । यो लगाउन्जेल हुन्छ, छाडेपछि मान्छे फेरि भुँडे भइहाल्छन्, यो रेगुलर हुँदैन । पैसा मात्र खर्च हुन्छ । पछि कलेजो, मृगौलामा समस्या हुन्छ । नपुङ्गसकता आउनसक्छ । सकभर नलगाएको राम्रो हो ।
प्रदेश वा स्थानीय तहमा यो खेलको अवस्था कस्तो छ, सहयोग कतिको मिलेको छ ?
म कपिलवस्तुको परे त्यहाँ प्रतियोगिता भयो भने समयोग मिल्छ । अहिले तीन तहको सरकार छ आवश्यकता अनुसार सहयोग गर्नुहुन्छ । नेपालको राष्ट्रिय खेलकुद परिषद्को कुरा गर्यो भने उहाँहरुले धेरै खेलहरुलाइई घटाएर थोरै बनाउँदै हुनुहुन्छ । प्रदेश प्रदेशमा हामीले सञ्जाल पनि विस्तार गरिरहेका छौँ । यस कारण सामान्य सहयोग मिलिरहेको छ । सोर्स, फोर्स, पावर त आवश्यक परिहाल्छ । विदेशमा खेल्न जाँदा पनि सामान्य स्पोन्सरहरु भेटिन्छन् । कतिपय स्थानमा आफ्नै खर्चले पनि जानुपर्ने बाध्यता छ । मलाई व्यक्तिगत रुपमा जानलाई धेरै समस्या परेको छैन ।
हिजोआज व्ययाम नगर्ने मान्छे कम नै छन् । जिम भन्ने थाहा छैन भन्ने धेरै कम छन् । जिम व्यवसाय फस्टाउँदै गएको छ । मैले जिमबाट नै परिवार पालेको छु । गाउँमा पनि जिम खोलेको पाइन्छ । जिम नभएको ठाउँ कमै होला ।
यो खेल खेल्दा शारीरिक रुपमा दीर्घकालीन असर गर्छ भन्ने बुझाइ छ नि !
पहिले पहिले मलाई पनि धेरै साथीहरुले यस्तो खेल नखेल, जिम नगर भन्ने सल्लाह दिन्थे । बुढेसकालमा बिरामी हुन्छ, ढाड दुख्छ भन्थे । उहाँहरुले भनेको पनि ठिक हो । तर, कसरी भने पहिला हाम्रो जमानामा बेल्ट हुँदैनथ्यो, गुरु थिएनन् । मुढे बलका भरमा खेलिन्थ्यो । के गरे के हुन्छ थाहा नै हुँदैन थियो । मेरो अहिले ढाड दुख्छ किनभने मलाई पहिला आवश्यक विधि अपनाउन जानिन् । अन्दाजी एक्ससाइज गर्थें । तर, यसमा सेफ्टी फस्ट हुनुपर्छ भन्ने लाग्छ । बेल्ट लगाउने स्टेजिङ गर्नुपर्छ, यसो गर्यो भने ढाड दुख्दैन । आजकल सबै गुरुहरु अनुभवी हुन्छन् ।
बडी बिल्डिङ खेल क्षेत्रमा राज्यको सहयोग चाहिँ कस्तो छ ?
सामान्य मात्रै सहयोग छ । यसका खेलाडीहरु सरकारप्रति धेरै आशावादी पनि छैनन् । जसको पावर छ, पहुँच छ उसले मात्र सहयोग पाउँछ भन्ने बुझाइछ । मैले लुम्बिनी प्रदेशबाट रत्न पुरस्कार पाएको छु । त्यो नै मेरा लागि ठुलो कुरा हो । हेरम अब विस्तारै अरु पनि केही हुन्छ कि । सरकार पनि कहिले कुन हुन्छ कहिले कुन सरकार आउँछ । त्यहीँ भएर खासै भर हुँदैन । पार्टीको प्रभाव र पावरले मात्र सहयोग पाइन्छ । नत्र पाइँदैन ।
नयाँ खेलाडीहरुलाई के भन्न चाहनुहुन्छ ?
नयाँ आउने विद्यार्थीहरुले महत्त्वपूर्ण कुराहरु पढ्न सुझाव दिन्छु । त्यसका साथै स्वास्थ्यलाई ख्याल राख्नुपर्छ । मान्छेको दुई चिज आफ्नो कसैले चोर्न सक्दैन । एउटा स्वास्थ अर्को शिक्षा । व्ययाम गर्नुहोला तर जिम गर्दा अनुभवी गुरुहरुकोमा मात्र आउनुहोला । गाडी र मोटरसाइकल पनि पुरानो भएपछि सर्भिसिङ गर्छौँ । आफ्ने उमेर अनुसार व्ययाम गर्नुहोला । खानपिनमा बार्नुहोला ।