- मनिषा बस्नेत
काठमाडौँ, २८ वैशाख । १६ वर्षसम्म माओवादी विचार र पार्टीमा रहेर मुलुक परिवर्तनको सपना देखेका एक युवा हुन् रहबर अन्सारी । तर, ती पार्टीमा आवद्ध नेताको व्यवहार र सिद्धान्तको खाडलमा उहाँ लामो समय टिक्न सक्नुभएन । त्यसपछि उहाँले नयाँ बाटो रोज्नुभयो । परिवर्तनको हुटहुटी बोकेर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घन्टी बजाउँदै’ संसद् यात्रामा हिँडे र सदन छिर्न सफल हुनुभयो ।
बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तथा उद्योग, वाणिज्य र श्रम समितिका सभापति रहबर अन्सारीको राजनीतिक संघर्षको कथा निकै रोचक छ । अन्सारीका बुवा सरकारी डाक्टर (चिकित्सक) हुनुहुन्छ । बुवाको चाहना छोरालाई बैंक म्यानेजर बनाउने थियो तर रहबरको मनमा समाजको असमानताले डेरा जमाएको थियो ।
विसं.२०६६ सालमा नेकपा (माओवादी केन्द्र) मा आबद्ध हुँदा उहाँले सोचेका थिए, शासकीय व्यवस्था बदलेर मात्रै निम्न वर्गका मानिसको जीवन बदलिन्छ । तर, संसदीय राजनीतिको दलदलमा फसेपछि पार्टीका नेताहरूको फेरिएको विलासी जीवन र जनताप्रति हराउँदै गएको जवाफदेहिताले उहाँलाई विद्रोही बनायो ।
अन्सारीले राजनीति आफ्नो लागि पद, प्रतिष्ठा वा पारिवारिक परम्पराको निरन्तरता नभइ समाज परिवर्तनको माध्यम बनेको बताउँछन् ।
आफू राजनीतिमा प्रवेश गरेको फेहरिस्त सुनाउँदै उहाँले आफ्नो परिवारमा राजनीतिमा सक्रिय हुने पहिलो व्यक्ति आफू नै भएको दावी समेत गर्नुभयो । उहाँका बुबा सरकारी सेवामा रहेका डाक्टर थिए र परिवारको राजनीतिसँग कुनै सम्बन्ध थिएन । बुबाको जागिरका कारण देशका विभिन्न ठाउँमा बस्ने अवसर पाएको स्मरण गर्दै उहाँले त्यही अनुभवले समाज, वर्ग र जनताको वास्तविक जीवन बुझ्न मदत गरेको बताउनुभयो ।
“म जहाँ–जहाँ पुगेँ, त्यहाँका मानिसहरूको जीवन नजिकबाट देख्ने मौका पाएँ,” उहाँले भन्नुभयो, “हामीले शिक्षाको अवसर पायौँ, राम्रो जीवन पायौँ, तर समुदाय र समाजका धेरै मानिसहरूको अवस्था त्यस्तो थिएन । अनेकौँ प्रश्नले सधैँ मलाई नै सताउने गर्थे,’ उहाँले विगत सुनाउनुभयो ।
उहाँले अध्ययनका क्रममा भारत र अन्य देशसम्म पुगेर अनुभव बटुलेपछि आफ्नै समाजमा केही परिवर्तन गर्नुपर्ने सोच बनाउनुभयो । उहाँका अनुसार समाजमा रहेको असमानता, अवसरको अभाव र राजनीतिक बेवास्ताले उहाँलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गरेको हो ।
अन्सारीले राजनीति रोज्नु आफ्नो पूर्वयोजना नभएको स्पष्ट पार्दै सुरुवातमा चिकित्सक बन्ने पारिवारिक अपेक्षा रहेको बताउनुभयो । “बुबाको चाहना म पनि डाक्टर बनोस भन्ने थियो,” उहाँले भन्नुभयो, “तर, मलाई मेडिकल क्षेत्रप्रति त्यति रुचि थिएन । जब मैले साइन्स नलिएर कमर्स पढ्ने निर्णय गरेँ, त्यो परिवारका लागि एक किसिमको झट्का लाग्यो ।”
उहाँका अनुसार बुबाले पछि बैंकिङ वा व्यवस्थापन क्षेत्रमा स्थिर जीवन बिताउने अपेक्षा गर्नुभएको थियो ।
“उहाँको सपना एउटा राम्रो जागिर होस्, परिवारलाई समय दिन सकियोस्, सन्तुलित जीवन होस्,” उहाँले भन्नुभयो, “बुवा छोराले बेस्सरी पैसा कमाओस् भनेर चाहना राख्ने व्यक्ति होइन । कम पैसामा पनि एउटा क्वालिटी फ्यामिली लाइफ होस् भनेर चाहना राख्ने व्यक्ति हुन् । अब म यस्तो काममा आए कि उहाँभन्दा पनि बढी व्यस्त हुने काममा म आइदिए ।”
यद्यपि, उहाँले आफ्नो विचार र निर्णयमा परिवारले दबाब नदिएको र बुबाले आफूलाई बौद्धिक स्वतन्त्रता दिएको उल्लेख गर्नुभयो । “मैले जुनसुकै बाटो रोजे पनि उहाँले अवरोध गर्नुभएन,” उहाँले भन्नुभयो, “त्यो नै मेरो लागि सबैभन्दा ठुलो प्रेरणा बन्यो ।”
अन्सारीले २०६६ सालदेखि सक्रिय रूपमा राजनीतिमा लागेको र लामो समय नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा आबद्ध भएर काम गरेको बताउनुभयो । उहाँका अनुसार त्यो पार्टीले सामाजिक परिवर्तन, नयाँ राजनीतिक सोच र राज्य संरचनामा आमूल परिवर्तनको मुद्दा उठाएकाले आफू आकर्षित भएको थियो ।
“त्यतिबेला मलाई लाग्थ्यो राजनीति नै परिवर्तनको सूत्रधार हो,” उहाँले भन्नुभयो, “देश र समाज बदल्ने सबैभन्दा प्रभावकारी माध्यम राजनीति नै हो भन्ने विश्वास थियो ।”
तर, राजनीतिमा लामो समय बिताउँदै जाँदा उहाँले पार्टीका सिद्धान्त र नेताहरूको व्यवहारबिच ठुलो अन्तर देख्न थालेको बताउनुभयो । “म जहिले पनि पार्टीभित्र आफ्नो फरक मत राख्थे,” उहाँले भन्नुभयो, “हामीले बोलेको कुरा व्यवहारमा पनि देखिनुपर्छ भन्ने मेरो धारणा थियो ।”
उहाँले जनतालाई लामो समयसम्म भाषण र नाराले मात्र प्रभावमा राख्न नसकिने उल्लेख गर्दै अहिले नेपाली जनताको राजनीतिक चेतना धेरै माथि पुगेको बताउनुभयो । “जनताले अब नेताको भाषण मात्र सुन्दैनन्, उनीहरूको व्यवहार पनि मूल्यांकन गर्छन्,” उहाँले भन्नुभयो ।
निर्वाचन परिणामः चेतनाको परिवर्तन
अन्सारीले पछिल्लो निर्वाचन परिणामले यही चेतनाको परिवर्तन देखाएको दाबी गर्नुभयो । उहाँले आफ्नो क्षेत्रमा करिब ८० हजार मत खसेको र आफूले ४१ हजारभन्दा बढी मत ल्याएको उल्लेख गर्दै त्यो मत कुनै एक दलका समर्थकबाट मात्र नआएको बताउनुभयो ।
हाल रास्वपाका सांसद रहेका अन्सारीले विभिन्न राजनीतिक दलका समर्थकले परिवर्तनको अपेक्षासहित आफूलाई मतदान गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसपालि जनताले सबै पार्टीका सभा सुने, कोही एमालेको र्यालीमा घुमेका थिए, कोही नेकपाको र्यालीमा पुगेका थिए, कोही कांग्रेसको र्यालीमा घुमेका थिए । स्टेजमा बसी नेताको वाहवाही गरी माला पनि लगाइदिएका थिए । तर, भोट घन्टीमा हालिदिएका छन् । त्यो भनेको जनताले गरेको जवाबी प्रहार हो ।”
उहाँका अनुसार अहिलेको नेपाली समाजमा राजनीतिक चेतना, सूचना प्रवाह र प्रविधिको पहुँचले जनतालाई अझ सचेत बनाएको छ । “मिडिया, प्रविधि र समयले जनतालाई विश्लेषण गर्न सिकाएको छ, अब नेताले बोलेकै भरमा जनताले विश्वास गर्दैनन्,” उहाँले भन्नुभयो ।
अन्सारीले पुराना राजनीतिक दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै सिद्धान्तभन्दा व्यवहार सुधार्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
“राजनीति जनताको जीवन बदल्नका लागि हो,” उहाँले भन्नुभयो, “यदि राजनीति नै जनताबाट टाढा भयो भने त्यसको अर्थ समाप्त हुन्छ ।”
अबको २० बर्षमा देश समृद्ध बनाउने लक्ष्य
उहाँले आगामी २० वर्षको नेपाललाई समृद्ध, जिम्मेवार र जनमुखी राजनीतिक संस्कार भएको देशका रूपमा हेर्न चाहेको बताउनुभयो । त्यसका लागि राजनीतिमा नयाँ सोच, जवाफदेहिता र व्यवहारिक परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति अन्सारीले नेपाली राजनीतिमा जनताले दिएको पछिल्लो म्यान्डेट पुरानो राजनीतिक शैलीविरुद्धको स्पष्ट प्रहार भएको बताउनुहुन्छ ।
उहाँले विगतका राजनीतिक दल र नेतृत्वले राज्य, समाज र जनतालाई गम्भीर रूपमा नलिएको कारण जनता नयाँ विकल्प खोज्न बाध्य भएको उल्लेख गर्नुभयो । आफू पनि त्यही परिवर्तनको अभियानसँग जोडिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रोज्नुको कारण जनताको पक्षमा उभिने राजनीति भएको पनि बताउनुभयो ।
अन्सारीले समानुपातिक प्रणालीबाट सहजै सांसद बन्न सक्ने अवस्था हुँदाहुँदै पनि प्रत्यक्ष निर्वाचन रोज्नुको कारण जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेर काम गर्ने चाहना भएको उहाँको भनाइ थियो ।
“यदि सांसद बन्नकै लागि मात्र राजनीति गरेको भए म समानुपातिकबाट सजिलै आउन सक्थेँ,” उहाँले भन्नुभयो, “तर, मेरो उद्देश्य केवल संसद् पुग्नु थिएन, जनताको भावना र आवश्यकता बुझेर काम गर्नु थियो ।”
उहाँले अहिलेको समयमा जनतालाई ठुला–ठुला सैद्धान्तिक भाषणभन्दा प्रत्यक्ष अनुभूति हुने काम आवश्यक रहेको बताउनुभयो । विगत तीन–चार दशकको राजनीतिले जनतालाई निराश बनाएको उल्लेख गर्दै साना सुधारले समेत जनता उत्साहित हुनु त्यसैको परिणाम भएको उनको धारणा थियो ।
“आज सामान्य सुधार हुँदा पनि जनता अत्यन्त खुसी भइरहेका छन्,” उहाँले भन्नुभयो, “लामो समयदेखि राज्य प्रणालीले जनतालाई निराश मात्र बनाएको छ । यस्तो अवस्थामा सानो सकारात्मक परिवर्तनले पनि आशा जगाउँछ ।”
उहाँले अहिलेको राजनीतिक अवस्थालाई जनताको पीडासँग तुलना गर्दै भन्नुभयो, “किनभने मैले यसलाई बोल्दाखेरि शब्द ठिक नहोला तर शरीर भरि लुतो लागेको शरीरमा अलिकति पनि कसैले कन्याइदियो भने आनन्द आउँछ । अहिले जनताको अवस्था त्यस्तै भएको छ ।”
सुधारको संकेत, आशावादी जनता
अन्सारीले देशमा व्यापक विकृति र बेथिति रहेको उल्लेख गर्दै सुधारको सामान्य संकेतले पनि जनतामा आशा पैदा गरिरहेको बताउनुभयो । तर, त्यति सामान्य सुधारसमेत दिन नसक्नु राजनीतिक असफलताको चरम अवस्था भएको उहाँको भनाइ थियो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन चाहने मानिसहरूको संगठित प्रयासका रूपमा चित्रित गर्नुभयो ।
“राजनीतिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पीडित भएका, परिवर्तन चाहने र इमान्दार ढंगले काम गर्न चाहने व्यक्तिहरू एक ठाउँमा जुटेका छन्, त्यसैले यो पार्टीप्रति मेरो विश्वास बढ्यो,” उहाँले भन्नुभयो ।
उहाँले आफ्नो सोच, काम गर्ने शैली र राजनीतिक दृष्टिकोण पार्टीसँग मेल खाने भएकाले आफूलाई यही ठाउँ उपयुक्त लागेको बताउनुभयो ।
बारा–४ बाट निर्वाचन लड्दा आफूले अरु उम्मेदवारजस्तो असम्भव र ठुला आश्वासन नदिएको अन्सारीले बताउनुभयो । चुनावी अभियानमा जनतासँग गरेको मुख्य प्रतिबद्धता राजनीतिक संस्कार परिवर्तन गर्ने रहेको उहाँले उल्लेख गर्नुभयो ।
“मैले जनतालाई के भनेको थिएँ भने म मालिक बन्न आएको होइन,” उहाँले भन्नुभयो “म जनताको प्रतिनिधि बनेर उनीहरुको आवाज उठाउन आएको हुँ ।”
उहाँले विगतमा जनप्रतिनिधि र जनताबीच मालिक र दासजस्तो सम्बन्ध विकसित भएको टिप्पणी गर्नुभयो । आफूले त्यसलाई बदल्ने प्रयास गरेको र जनताको सेवकका रुपमा काम गर्न खोजेको बताउनुभयो ।
अन्सारीका अनुसार जनप्रतिनिधि बनेपछि आफूले शक्ति, प्रभाव वा पहुँचको दुरुपयोग नगरेको दाबी गर्नुभयो । “अहिलेसम्म मेरो नाममा कुनै पनि अस्वाभाविक लाभ लिएको, प्रभावको दुरुपयोग गरेको वा गलत काम गरेको आरोप छैन,” उहाँले भन्नुभयो ।
उहाँले आफ्नो क्षेत्रका जनता अहिले सुरक्षित र सन्तुष्ट महसुस गरिरहेको दाबी गर्दै आफू नीतिगत काममा केन्द्रित रहेको बताउनुभयो ।
औद्योगिक प्रदूषण रोक्नुपर्छ
अन्सारीले जितपुर–सिमरा क्षेत्रमा औद्योगिक प्रदूषण ठुलो समस्या बनेको उल्लेख गर्दै त्यसलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको बताउनुभयो ।
उहाँका अनुसार उद्योगबाट निस्कने धुँवा, फोहोर र प्रदूषणका कारण स्थानीय जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । “क्यान्सरका बिरामी बढिरहेका छन्, पत्थरीको बिरामी बढिरहेका छन्, सफा हावा सास फेर्न समेत कठिन भइरहेको अवस्था छ,” उहाँले भन्नुभयो ।
उहाँले जनतालाई सफा हावा, सफा पानी र स्वस्थ वातावरणमा बाँच्ने अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । “मैले चुनावका बेला जनतालाई प्रदूषण व्यवस्थापन गर्ने प्रतिवद्धता गरेको थिएँ, अहिले त्यसलाई कार्यान्वयनतर्फ लैजाँदै छु,” उहाँले भन्नुभयो ।
उद्योग मन्त्रालयसँगको छलफलमा पनि यो विषय कडाइका साथ उठाएको जानकारी दिँदै उहाँले नीतिगत सुधारमार्फत परिणाम देखाउने गरी काम भइरहेको बताउनुभयो ।
समिति प्रभावकारी बनाउन ‘रोल मोडल’
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिलाई प्रभावकारी बनाउने प्रयास भइरहेको अन्सारीले बताउनुभयो ।
उहाँले संसदीय समितिहरू विगतमा केवल प्रतिवेदन बनाउने र छलफलमा सीमित हुने गरेको टिप्पणी गर्दै अब त्यसलाई समाधानमुखी बनाउने प्रयास भइरहेको बताउनुभयो । “यो समिति अब प्रतिवेदन तयार गरेर थन्क्याउने ठाउँ मात्र हुँदैन,” उहाँले भन्नुभयो, “समस्याको समाधान खोज्ने संयन्त्रका रूपमा यसलाई स्थापित गर्न खोजिएको छ ।”
उहाँका अनुसार केही बैठकपछि नै समितिको काम गर्ने शैलीमा फरकपन महसुस हुन थालेको छ । सदस्यहरू र सर्वसाधारणले पनि त्यसलाई अनुभव गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीसँगको समन्वयमा प्रश्न गर्दा उहाँले कार्यपालिका र व्यवस्थापिकाको भूमिकालाई फरक ढंगले बुझ्नुपर्ने धारणा राख्नुभयो । संसद् र सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले संसदीय समितिको काम प्रभावकारी बनाउन मन्त्रालयहरूसँग सहकार्य गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार उद्योग मन्त्रालय र श्रम मन्त्रालयसँग नजिकबाट काम भइरहेको छ । “हामीले नीतिगत रूपमा काम गर्दा कार्यपालिकाको सहयोग आवश्यक पर्छ,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीसँगको सम्बन्धबारे उठ्ने प्रश्नमा उहाँले कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले मधेस प्रदेशका सांसदहरूसँग विशेष छलफल गरेर उनीहरूको कुरा सुनेको र उठाइएका विषयमा कामसमेत भइरहेको उहाँको भनाइ थियो ।
“सम्माननीय प्रधानमन्त्रीज्यू कार्यपालिकालाई लिड गर्दै हुनुहुन्छ । सम्पूर्ण सांसदहरुसँग चाहे प्रत्यक्ष होस्, चाहे समानुपातिक प्रणालीबाट आउनुभएका होस् हाम्रो कुरा विस्तारमा सुन्नुभएको छ,” उहाँले भन्नुभयो, “फेरि हामीले बोल्यौं, उहाँले सुन्नुभयो, कुरा सकियो भन्ने कुरा होइन त्यो मिटिङ सकाएदेखि अर्को दिनदेखि नै हामीले ति कुराहरुमा डेलिभरी आएको महसुस गरेका छौँ ।”
अन्सारीले विगतमा व्यक्तिगत सम्बन्ध र पहुँचका आधारमा काम हुने गरेको टिप्पणी गर्नुभयो । त्यस्तो प्रणालीले समग्र जनता र राज्यलाई फाइदा नपुग्ने उहाँको भनाइ थियो ।
“पहिले व्यक्तिगत सम्बन्धका आधारमा काम हुन्थ्यो,” उहाँले भन्नुभयो, “त्यसले सीमित व्यक्तिलाई लाभ दिन्थ्यो, तर अहिले संयन्त्रमार्फत काम भइरहेको छ ।”
उहाँले अहिले जनताले न्याय पाउने र काम हुने प्रक्रियामा कमी नभएको दाबी गर्नुभयो । सरकार र सांसदबिच समन्वय नभएको भन्ने भ्रम नराख्न आग्रह गर्दै उहाँले अहिलेको समन्वयकै कारण डेलिभरी सम्भव भइरहेको बताउनुभयो । –नेपाल न्युज बैङ्क