- प्रमिला कार्की
यसवर्ष २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा हामी भूकम्पको जोखिममै छौँ भन्नेमा स्पष्ट हुन्छ । विगत २६ वर्षदेखि प्रत्येक माघ २ गते सुरक्षा दिवस मनाइरहँदा यसको क्षति कम गर्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । २०९० र २०७२ सालको भूकम्पबाट हामी के स्पष्ट हुनुपर्छ भने हामी जोखिममुक्त हुन सकिरहेका छैनौँ । त्यसकारण जोखिम न्यूनीकरण गर्नका लागि अथवा क्षति कम गर्नका लागि चनाखो बन्नैपर्छ ।
भूकम्प नेपालमा केन्द्रबिन्दु बनाएर आउँदा मात्र हल्लाउने होइन छिमेकी मुलुकतिर गयो भने पनि अथवा हाम्रो सिमानाभन्दा टाढा जाँदा पनि नेपालमा क्षति हुनसक्छ । हालै तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले पनि त्यो पाठ पढाएको छ । यो सामान्य लागेपनि साधारणतय नेपालमा जाने भूकम्पहरु टेक्टोनिक प्लेटको जुधाइको कारण अथवा दुईवटा टेक्टोनिक प्लेटहरु एकआपसमा ठोकिँदा हिमालय क्षेत्रमा त्यसको सिर्जना हुने हो । हाल त्यहीँ प्रक्रिया चलिरहेको छ । जुन प्रक्रिया अहिले पनि चलिरहेको छ । त्यहीँ सिलसिलामध्ये हिमालयभन्दा उत्तरतर्फ इन्डियन प्लेट र युरोसिन प्लेटको जुधाइ अथवा इन्डियन प्लेटको मुनि युरोसिन प्लेट छिर्दा शक्ति सञ्चय हुन्छ । अर्को भनेको उत्तरतर्फ रहेको युरोसिन प्लेटको आफ्नै गति हुन्छ त्यसले नेपालमा जाने भूकम्प र उत्तरतिर जाने भूकम्पको प्रकिया फरक हुन्छ । नेपालमा जाने प्रक्रिया एकआपसमा जुध्दाखेरी उत्तरतर्फ रहेको हिमालयको भाग ठुलो भूकम्प जाँदा त्यो दक्षिणतर्फ सर्छ भने तिब्बतमा गएको भूकम्प साधारण प्रकृतिको नै रहेको देखिन्छ । तिब्बतका भूकम्पहरु साधारण प्रकृतिको नै हुन्छ । त्यो विपरीत दिशामा हुनेखालको हुन्छ । हिमालयहरुमा जाने भूकम्पहरुभन्दा कमजोर पनि हुन्छन् । तिब्बततिर धेरै गहिराइमा पनि जाने हुन्छन् किनभने इन्डिएन प्लेट तिब्बततिर पुग्दा धेरै गहिराइमा जान्छ । नेपालमा भन्दा त्यसको गहिराइ तल हुन्छ । तर, यस पटक चाहीँ दुर्भाग्यवस धेरै माथि केन्द्रबिन्दु बनाएर आयो । जसले क्षति गरायो ।
नेपालमा भूकम्पको जोखिमको कुरा गर्दा हिमालयको मात्र गरेर हुँदैन । नेपालमा भूकम्प कति गएका छन् भनेर ऐतिहासिक तथ्याङ्क हेर्ने हो भने १२५५ इस्वी सम्वतमा गएको सबैभन्दा पुरानो तथ्याङ्क छ । जुन भूकम्पमा परी अभय मल्ल राजाको मृत्यु भएको थियो । त्यसभन्दा पछाडि वा अगाडिको भूकम्पहरुका बारेमा जानकारी छैन । त्यसपछि ९० र ०४५ सालको पूर्वी नेपालमा भएको देखिन्छ । मध्य नेपालमा भने सोह्रौँ र अठारौँ शताब्दीमा अर्थात् १८९० मा गएको पाइन्छ । चौधौँ शताब्दीमा पनि भूकम्प गएका छन् । त्यसपछि ०७२ सालमा अढाइ वर्षको अन्तरालमा मध्यम खालका भूकम्पहरु गए । त्यस्तै पश्चिमतिर करिब पाँचसय वर्ष अगाडिको मुस्ताङ केन्द्रबिन्दु बनाएर महाभूकम्प गएको देखिन्छ । यी सबै तथ्यांकहरुले हामी भूकम्पीय जोखिममा अहिले मात्र होइन विगतदेखि नै रहेछौँ भन्ने देखाउँछ ।
भूकम्प जब हिमालय क्षेत्रमा बन्ने प्रक्रिया सुरु भयो त्यो चाहिँ पाँच करोड पहिलेदेखिको प्रक्रिया हो । त्यहीँ प्रक्रिया अहिलेपनि चलिरहेको छ । यो अझै करोडौँ वर्ष चल्छ । त्यसले गर्दा हामी सदैव नेपाल भूकम्पीय जोखिममा रहिरहन्छ ।
सचेतनाको कुरा गर्दा विश्वमा के भइरहेको छ भन्ने कुराहरु हेनुपर्छ । संसारको सबैभन्दा ठुलो भूकम्प चिलीमा १९६०मा गयो । ९.५ म्याग्निच्युटको भूकम्प थियो । त्यसपछि गोरखा केन्द्रबिन्दु भएर भूकम्प गयो । मानवीय क्षति र थोरै भौतिक क्षति भएको देखिन्छ । त्यसैगरी गोरखा भूकम्प जस्तै न्युजरल्याडमा जाँदा दुई जना मानिसको मृत्यु भयो तर हाम्रोमा करिब नौ हजारको मानवीय क्षति भयो । नेपालमा गइरहेका भूकम्पले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ । अहिलेसम्मको क्षतिको विवरण हेर्दा पूर्वतयारी पुगेको छैन । विशेषत भूकम्पका लागि हामी कहिले पनि तयारी भएनौँ । परापूर्व कालदेखि जुन क्षति भइरहेको थियो त्यसबाट पाठ सिक्नुपर्ने हो । तर, हामी सचेत हुन सकेका छैनौँ । जोखिम न्यूनीकरणमा गरेका कामहरु कम भएको देखिन्छ । त्यस्तै, गरेर ७२ सालको भूकम्पपछि चाहिँ जनताहरु धेरै सुसूचित भइसकेका छन् । सबैलाई भूकम्प जान्छ त्यसबाट कसरी बच्ने भन्ने कुरामा छलफल भएको पाइन्छ । राज्यबाट नीति नियमहरु धेरै बनिसकेको छ । हुनतः भूकम्प जाँदाखेरी हामीले बनाएका संरचनाले नै क्षति गर्ने हो ।
क्षति कम गर्नका लागि भवन आचारसंहिता बनिसकेको अवस्था छ । तर, यति हुँदाहुँदै पनि जाजरकोट र बझाङमा भूकम्प जाँदा पनि सोचेको भन्दा धेरै ठुलो क्षति भयो । यी सबै कुराहरु हेर्दा ९० र ०७२ सालको भूकम्पपछि जनताहरु सचेत त भएको देखिन्छ तर सीमित सहरी र सुगम क्षेत्रमा मात्र त्यो चेतना छ । जाजरकोट, रुकुम, बझाङ जस्ता ठाउँमा पुग्नुपर्ने सूचना नपुगेको अनुभव हुन्छ ।
यसमा स्थानीय तह सबैभन्दा बढी जागरुक हुनुपर्छ । किनभने हामीले जति नियम कानुन बनाउँछौँ, त्यो जनताको दैलोसम्म पुर्याउने स्थानीय निकायले हो । त्यसकारण स्थानीय निकाय सक्रिय भएर काम गरे बढी प्रभावकारी हुन्छ । जनतामा भूकम्प आउन सक्छ, म जोखिममा छु भनेर थाहा पाउनुपर्छ र सुरक्षित हुनुपर्छ भन्ने ज्ञान आवश्यक छ । जबसम्म जानकारीबोध जनमानसमा हुँदैन तबसम्म जनता सुरक्षित हुँदैनन् । भूकम्पसम्बन्धी जानकारी, भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने कुराहरु सिकाउनका लागि स्कुल तहदेखि नै अन्य पाठ्यक्रमसँगै भूकम्पको बारेमा पनि पढाउनुपर्छ । त्यसमा सबैभन्दा ठुलो कुरा भूकम्प गइसकेपछि कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा सिकाउनका लागि र अभ्यास नियमति रुपमा गराउन सक्यौँ भने भूकम्प जाँदा आत्तिन पर्दैन होला र भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्छ भनेर पनि भन्न पर्दैन होला ।
भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु पर्दैन भन्ने कुराहरु सूचनाका रुपमा आइ नै रहेका छन् । सरकारले कति गर्ने हो भन्ने कुरा हो । एउटा भवन आचारसंहित बनाएर लागु भएको वर्षौँ भइसक्यो । गत वर्ष फेरि त्यसलाई सुधार गरेर लागु गरिएको छ । यो भनेको भूकम्पबाट हुने क्षतिलाई कम गर्नका लागि यसरी संरचना निर्माण गर्नुपर्छ है भन्ने कुरा त कानूनका रुपमा लागु भइ नै सक्यो ।
जोखिममा भएका घर र संरचनाहरु कुनै छन् भने त्यसलाई सबलीकरण गर्ने कुरामा सरकारले गर्न सक्ला भन्दैगर्दा देशको आर्थिक अवस्था हेर्ने हो भने त्यो सम्भव पनि नहोला । त्यसमा राज्यले गर्नपर्ने कुरा ७२ पछिको भूकम्पमा ऐन कानुन एवम् प्राधिकरण नै बनिसकेको अवस्था छ । राहत वितरण, उद्धार कार्यमा सरकारले राम्रो काम गरेको कुरा देखेका छौँ ।
तर, संरचनाहरु तुरुन्तै बनाइदिने र छाडिदिने गर्दा आवश्यक परेको बेला तुरुन्तै त्यसले काम गर्न नसक्ने अवस्था पनि देखिएको छ । सरकार र नीजि क्षेत्रबाट पनि भूकम्पको क्षति न्यूनीकरण कार्य भूकम्प दिवस अथवा कुनै घटनाको सेरोफेरोलाई पारेर मात्र बढी सक्रिय हुने गरेको देखिन्छ । यो कुरालाई हटाउनुपर्छ र सरकारले अध्ययन, अनुसन्धानमा बढी ध्यान नदिएको जस्तो पनि देखिन्छ । त्यसबाहेक भइरहेका कुरा लागु गर्ने विषयमा पनि सरकारको कमजोरी भएको छ ।
हाम्रो देश यस्तो ठाउँमा छ, जहाँ भूकम्पीय शक्ति सञ्चित हुन्छ । त्यो भन्नुको अर्थ कुनै न कुनै समयमा यहाँ ठुलो भूकम्प जान्छ । लामो समयका लागि कुनै गतिविधि भएको छैन भन्दैमा जोखिम नभएको होइन । हामीसँग विभिन्न समयमा भूकम्प गएको धेरै इतिहासहरु छन् । यी कुराहरु दोहोरिरहेका छन् । त्यसैले क्षति गर्ने नै हो भन्ने कुरा हामीले मनन् गर्नुपर्यो र भूकम्प जाँदा डराउने होइन त्यसको क्षति कम कसरी गर्ने भन्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।
भूकम्प जाँदा के गर्ने, कसरी काम गर्ने भन्ने बारेमा अन्य ठाउँमा अध्ययनहरु भइसकेको छ । प्राविधिक तयार भइसकेका छन् । ती प्राविधिहरु हाम्रो देश अनुकुल प्रयोग गर्न सक्नुपर्छ । यही हिसाबले सबैले काम गरौँ ।
भूकम्पले गर्ने क्षति भनेको दुई किसिमको हुन्छ । एउटा मानवीय र अर्को भौतिक क्षति हो । मानवीय क्षति मानवले निर्माण गरेका भौतिक संरचनाहरुले नै गराउँछ । त्यसकारण सबैभन्दा पहिला हामीले बनाउने संरचनाहरु नै बलियो बनाउनुपर्छ तर त्यो बनाउनको लागि पनि अध्ययन अनुसन्धान देशभित्रै गर्यौँ भने मात्र सम्भव हुन्छ । त्यस आधारमा संरचनाहरु बनाए मात्र जोखिम न्यूनीकरण गर्न सक्षम हुन्छौँ ।
हामीले भूकम्प सम्बन्धी तथ्य सूचना जनतामा पुर्याउन सक्यौँ भने जनतालाई अस्वस्थ्य पार्न पनि सकिन्छ । यसो गर्न सके भविष्यमा हुने क्षति कम गर्न सक्छौँ ।
९० सालको भूकम्पको नाम नै ‘बिहार–नेपाल’ छ किनभने त्यो बेला नेपाल र भारतमा केन्द्रबिन्दु पत्ता लगाउन सक्ने व्यवस्था थिएन । त्यसमध्ये भूकम्पले करिब १६ हजार मानिसको ज्यान लियो । त्यसमध्ये ८ हजार बिहारमा मृत्यु भएको मानिसको संख्या थियो । नेपालको विभिन्न ठाँउ गरेर ८ हजार मानिसको मृत्यु भएको थियो भने भारतको एउटै ठाँउमा बिहारमा ८ हजारको मृत्यु हुँदा ९० सालको भूकम्पलाई नेपाल बिहार भूकम्प भनेर नाम दिइएको हो । हाम्रो भौगोलिक अवस्थाको कारण महाभूकम्पहरु उत्तरी क्षेत्र हिमालयको मुनि केन्द्रबिन्दु जान्छन् । तर, त्यो पहाडको चट्टान कता सर्छ भन्दा दक्षिणतर्फ चुरेसम्म सर्छ । महाभूकम्प आफैँमा ठुलो भयो र चुरेसम्म पुगेर जमिन चिरा पार्दा सबैभन्दा बढी खतरा र क्षति बढी हुन्छ । नेपालमा हुने महाभूकम्पको क्षति सबैभन्दा बढी पहाडमा हुन्छ ।
(खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित ।)