‘कार्साङ’ चलचित्र गहन विषयमा बनेको निर्देशकको दाबी

15

काठमाडौँ, १६ पुस । चलचित्र ‘कार्साङ’ का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् ।

कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’ मा रहेको बताउँदै दयाहाङ राईले झाँक्री सिनेमामा हुँदाको स्मरण गर्नुभयो ।

‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नु पर्ने थियो । सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर, उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो,’ काठमाडौँमा सोमबार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भन्नुभयो, ‘डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ । मलाई के गर्नु–गर्नु भयो । ट्राइ चाहिँ गर्छु भन्ने भयो । आगोमा पसेँ सफल भएँ । उहाँहरुसँग ज्ञान रहेछ ।’

लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उहाँले बताउनुभयो । झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उहाँको भनाइ छ ।

निर्देशक यम शेर्पाले भन्नुभयो, ‘चलचित्रको कथा आफैँमा राम्रो छ । सिनेमाले दर्शकको मन छुन्छ । भावुक बनाउँछ र हसाउँछ पनि, राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले चलचित्रलाई थप सशक्त बनाएको छ ।’

चलचित्रलाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मन पराउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘म जहाँ गए पनि दयाहाङको कार्साङ आउँदैछ रे भनेको सुन्छु र टिजर र गीतको कुरा गरेको सुन्छु, सायद यस्तै खोजी हुने र चासो भयो भने नै चलचित्र हेरिने होला ।’

कलाकार जितु नेपालले चलचित्र विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताउनुभयो । आफू विदेशमा हुँदा धेरैले यो चलचित्रको विषय र भूमिकालाई लिएर धेरैले सोधेको उहाँले बताउनुभयो ।

पोस्टर निस्किएपछि चासो बढेको उहाँको भनाइ छ । तपाईँको रोल कस्तो हो भनेर धेरैले सोध्ने गरेको जितुको भनाइ छ ।

‘म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन । सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो, जितु अगाडि भन्नुहुन्छ, म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु । सहायक चरित्र हुँदा पनि गर्छु ।’
कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरेँ भन्ने कुराले चलचित्रमा अर्थ राख्ने उहाँको भनाइ छ ।

नायिका सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो चलचित्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो काम कस्तो छ भनेर हेर्न पनि यो चलचित्र हेर्नुपर्छ, मलाई प्रतिक्रिया दिन पनि यो चलचित्र हेरिदिनुहुन्छ भन्ने लागेको छ । समग्रमा चलचित्र राम्रो बनेको छ । मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु ।’

पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैलाई रिलेट गर्ने कलाकार र निर्देशकको दाबी छ ।

चलचित्र ‘कार्साङ’ मा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...