पिएल सिंह सबैलाई सरल व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्यो : मन्त्री पौडेल

38

काठमाडौँ, १३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस नेता पिएल सिंह पार्टीमा सबैलाई सरल व्यवहार गर्ने व्यक्ति भएको बताउनुभएको छ ।

शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय पिएल सिंहको १३औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्नुहुँदै उहाँले सिंहले पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पिएल दाई असाध्यै उदार हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई । पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्नुहुन्थ्यो । सरल व्यवहार गर्ने खालको हुनुहुन्थ्यो । ’

साथै उहाँले सिंह काठमाडौँ महानगरको मेयर भइसकेपछि नेवार भाषालाई चलन चल्तीको भाषा बनाएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरको कोषलाई सबैसँग समन्वय गरेर त्यसको आकारसमेत बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौँ महानगरपालिकाको मेयर भइसकेपछि उहाँले नेवारी भाषालाई चलनचल्तीको भाषा बनाउनुभयो । काठमाडौँ महानगरको कोषलाई उहाँले दुनियाँसामु समन्वय गरेर त्यसको आकार बढाउनुभयो । महानगर बनाउनुभयो । करिडोरहरु उहाँले सबै सुरु गर्नुभएको हो ।’

उहाँले काठमाडौँको रितीतिथि, संस्कृति र मन्दिर सबैलाई महानगरबाट सहयोग हुने नीतिगत व्यवस्थासमेत पीएल सिंहले गरेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...