काठमाडौँ, ६ पुस । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले २०८२ साल वैशाख २६ गते बद्रिनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्न लागेको जानकारी दिनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित नमुना बद्रिनारायण मन्दिर ‘प्राण प्रतिष्ठान एवम् अनुष्ठान’ को घोषणा सभामा उहाँले नेपाल सरकार पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार २०८२ साल वैशाख २६ गते ९ः०२ बजेको प्राण प्रतिष्ठान गर्न लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२०८२ साल वैशाख २६ गते ९ः०२ बजेको शुभसाइतमा नेपाल सरकार पन्चाङ्ग समितिले दिएको साइतअनुसार बद्रिनारायण मन्दिरको प्राण प्रतिष्ठान गर्दैछौँ ।’
यसका साथै, उहाँले नेपाल पुण्यमय, तिर्थमय, अध्यात्मिक र गरिमामय भूमि भएको भन्दै एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने संकल्पका साथ अगाडि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ध्यान नेपालको हो । ध्यान सबैभन्दा पहिला भगवान पशुपतिनाथले गर्नुभएको हो । त्यसैले यो भूमि पुण्यमय, तिर्थमय, आध्यात्मिक र गरिमामय हो । यो भूमिलाई विश्व जगतमा उठाउनको लागिसंकल्प एक दिन नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने नै हो । त्यसका लागि हामीसँग वेद र बुद्ध छ । वेदको अध्यात्मिक र बुद्धको ध्यानको बिरासत छ ।’
अध्यात्मिकताको नवीनतम् प्रयोग, सनातनी प्रयोग, सेवा र साधनाको माध्यमबाट समाजको बृहत् समृद्धि गर्ने संकल्पका साथ लागिरहेको पनि उहाँको भनाइ छ ।