सेकाहा सामूदायिक विकास क्लबलाई आठौँ पाङ्मा कपको उपाधि

64

खाँदबारी, २ पुस । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मामा जारी आठौँ पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि सेकाहा सामूदायिक विकास क्लबले जितेको छ ।

लोहोरुङ क्लब पाङ्माको आयोजनमा खाँदबारी नगरपालिका–४ पाङ्मास्थित भगिवन्त रङ्गशालामा आठौँ पाङ्मा कप फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि सुरु भएको थियो ।

फाइनल खेलमा सेकाहा सामूदायिक विकास क्लबले शित्तलपाटी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै आठौँ संस्करणको पाङ्मा कपको उपाधि जितेको हो । दोस्रो हाफमा सञ्जय धिमालले गरेको गोल नै सेकाहाका लागि निर्णायक बन्यो । पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो ।

विजयी टिमलाई नगद २ लाख २ हजार २२२ रूपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्रले सम्मान गरिएको छ भने उपविजेतालाई नगद १ लख १ हजार १११ रूपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तैगरी, सेमिफाइनलमा प्रवेश गरेको तुम्लिङ्टार स्पोर्टिङ क्लब र आदर्श युथ क्लब झापाले नगद २५र२५ हजारमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता खाँदबारी फुटबल क्लबका अजित राई तथा उत्कृष्ट गोलरक्षक सेकहा सामूदायिक विकास क्लबका असिब राई भएका छन् ।

प्रतियोगितामा आयोजक लोहोरूङ क्लबसहित खाँदबारी युथ क्लब, एडभान्स क्लब मानेभञ्ज्याङ, तुम्लिङ्टार स्पोर्टिङ क्लब, सेकाहा सामूदायिक विकास क्लब, तीनपोखरी समाज विकास क्लब, शित्तलपाटी फुटबल क्लब, मकालु फ्रेन्ड्स क्लब, सभापोखरी फुटबल क्लब र आदर्श युथ क्लब झापाको सहभागिता थियो ।

Share This:
सम्बन्धित खबर
Loading...