पत्रकार महासंघमा चुनावी रौनक : शर्मा र विष्टले पेस गरे जित्ने आधार

10

काठमाडौँ, २६ मंसिर । आगामी २८ मंसिरमा मतदान हुने नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मैदानमा छन् ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवारका रुपमा शर्मा मैदानमा हुनुहुन्छ भने प्रेस सेन्टर, प्रेस युनियनकै असन्तुष्ट पक्षसहित विष्ट चुनावी मैदानमा हुनुहुन्छ । विशेषगरी शर्मा र विष्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका दुवै उम्मेदवारले आफ्नो जित निश्चित भएको दावी पेस गर्नुभएको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्षकी उम्मेदवार शर्माले महासंघको गरिमा र कुन्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभयो ।

शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरुमा सबैखाले मुद्दाहरुको समाधानमा आफू सक्षम भएको दाबी गर्नुभयो ।

उहाँले पत्रकार महासंघलाई आजको गौरवपूर्ण अवस्थामा पुर्‍याउन आफूले अथक मेहनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रुपमा भूमिका खेलेको पनि बताउनुभयो ।

उहाँले पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुन्ठित गर्ने काम हुने गरेकोले त्यो बेला आफू पक्राउ समेत परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म पत्रकार महासंघ र मिडियामा विगत ३० वर्षदेखि लगातार आवद्घ छु । मिडियामा श्रम गरिरहेको छु । त्यसैगरी पत्रकार महासंघलाई यो ठाउँमा पुर्‍याउनका लागि धेरै योगदान गरेको छु । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनको सिपाइ हुँ । पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुन्ठित गर्दा आफू डटेर लागेको हुँ ।’

साथै उहाँले पत्रकारिता नै आफ्नो अभियान भएको बताउनुभयो । आफू लोकतन्त्रसंग विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर सच्चा श्रमजीवि पत्रकार भएको बताउनुभयो ।

त्यस्तै, अध्यक्षका उम्मेदवार विष्टले आफूले लामो समयसम्म महासंघमै बसेर काम गरेको अनुभवलाई सदुपयोग गर्न, दलीय सिन्डिकेट तोड्न साथै पत्रकारिता पेशालाई व्यवस्थित गर्नका लागि नीति र कानुनमा परिवर्तन ल्याउन उम्मेदवारी दिएको दाबी गर्नुभयो ।

आफू उठनका लागि र स्टन्ट गर्नका लागि उम्मेदवार नबनेको बताउँदै विष्टले महासंघमा लामो समय भोलेन्टियर भएर काम गरेको मूल्यांकन यस पटक हुने उहाँको भनाइ छ । ‘म कसैको इसारामा अथवा कसैलाई सेवा गर्न जाँदै छैन । त्यसैले मेरो जित सुनिश्चित छ । मैले अगाडि सारेको एजेन्डा र अहिलेसम्म पाएको प्रतिक्रियाअनुसार राम्रो मतका साथ चुनाव जित्दैछु,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले भन्नुभयो ।

नेपालमा प्रेस कानुनहरु नबनिरहेको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा चुनौती रहेको एवम् परम्परागत र नयाँ डिजिटल मिडियाबीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्दै पुनःसंरचना आवश्यक भएकाले पनि महासंघको नेतृत्व सवल र अनुभवी चाहिने उहाँले बताउनुभयो ।

‘विशेषगरी महासंघभित्रै शुद्धिकरण जरुरी छ । अन्य नीतिगत र कानुनी कुराहरुमा पुनःसंरचना गर्नुपर्ने आवश्यक्ता छ । पत्रकारितामाथि धेरै प्रश्नहरु उठेका छन् । बिहानदेखि रातिसम्म कर्म गर्ने तर त्यसको उचित पारिश्रमिक नपाउने एउटा बिडम्वनापूर्ण अवस्था पनि छ । यसका लागि अनुभवि र श्रमजीविका मुद्दा बुझ्नसक्ने नेतृत्व आवश्यक छ,’ उहाँले भन्नुभयो ।

विष्टले पत्रकार महासंघले सोचेअनुसार काम गर्न नसकिरहेको गुनासोहरु आइरहेकाले यसका लागि पहिले राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो,‘राजनीतिक हस्तक्षेप प्रष्ट देखिएको छ । दलीय सिन्डिकेट तोड्नैपर्छ । अहिले पत्रकारितका क्षेत्रमा प्रशस्त प्रश्नहरु उठेका छन् । त्यसैले पत्रकारहरुलाई परेको समस्या र सुरक्षा समस्याहरु करिब छ महिनाभित्र परिवर्तन गराउने मेरो लक्ष्य छ ।’

Share This:
सम्बन्धित खबर
Loading...