हाम्रो खबरदारीलाई सरकारले बेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड

13

काठमाडौँ, १० कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

शनिबार काठमाडौँमा आयोजित सरकारविरुद्ध खबरदारी कार्यक्रममा उहाँले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेकाले गम्भीर हुन चेतावनी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ । म सरकारलाई गम्भीर रुपले लिन चुनौती दिन चाहन्छु । सरकारलाई हिजोको लापरवाही फेरि नदोहोरियोस् भनेर खबरदारी पनि दिन चाहन्छु । उद्धार, राहत र पुनःस्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस् ।’

यसको साथै, उहाँले हामीलाई जे चिन्ता लागेको थियो आज सय दिन पुग्दा नपुग्दै त्यो चिन्ता सरकार आफैँले पुष्टि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई नयाँ सरकार बन्यो भनेर कुनै चिन्ता छैन । तर, यो सरकार के का लागि बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउन बन्यो र यो सरकार रातको अध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर षड्यन्त्रको तरिकाले बन्यो । सरकार दलालहरुका घर घरमा गएर रातको १२ बजे बन्यो, हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिए । आज सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौं त्यो पुष्टि भएको छ, सरकार आफैले पुष्टि गरेको छ ।’

यस्तै, सरकार भ्रष्टाचारीहरुको रक्षाका लागि सुशासनका विपक्षमा बिचौलियाहरुको पक्षमा लागेको भन्दै यो सरकार आफैँ कुहिएर झर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘तपाईहरु जसरी भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा जाँदै हुनुहुन्छ तपाईंहरु आफैँ कुहिएर झर्नु हुनेछ हामीलाई दोष दिन पाउनु हुने छैन । हामीले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको पनि होइन। हामीलाई राम्रो तरिकाले थाहा छ ।’

Share This:
सम्बन्धित खबर
Loading...