काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।
काठमाडौँ महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन् ।
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाड़ी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति गौशाला धर्मशालामाथिको आक्रमण मारवाड़ी समुदायमाथि मात्रै नभइ हिन्दुहरुको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमिमाथिको आक्रमण भएको आरोप लगाएका छन् ।
विश्वभरीबाट आउने हिन्दु श्रद्धालुहरुको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गौ पालन हुँदै गरेको र झण्डै एक सय जना मृगौला रोगी को निःशुल्क डाइलासिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानुन तथा विभिन्न समयमा भएको सम्झौताविपरीत महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएकोप्रति उनीहरुको आरोप छ ।
कार्यक्रममा उपस्थित पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशालामाथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडि हिन्दु धर्ममा आस्था राख्नेमाथि षडयन्त्रको एउटा सानो सुरुवात भएको बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरुको भर्ती केन्द्र बनेको पराजुलीको भनाइ रहेको छ । उहाँले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दुहरुले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिनुभयो ।
कार्यक्रममा उपस्थित पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरुले मारवाड़ी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताउनुभयो ।
कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल, विश्व हिन्दु महासंघलगायत एक दर्जन संघ संस्थाका प्रतिनिधिहरु थिए । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट घटना सामान्य देखिँदा पनि भित्रबाट ठुलै षड्यन्त्र भएको बताउनुभयो ।
उहाँले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली ‘गुण्डा नाइक’जस्तै रहेको बताउनुभयो ।