काठमाडौँ, २४ असोज । काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको छ ।
काठमाडौँ उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । ‘नो हर्न’लाई अभियानकै रुपमा सञ्चालन गरी पर्चा पम्प्लेट वितरण, सचेतना कार्यक्रम सञ्चालन, नो हर्न स्टिकर टाँसलगायत विविध कार्यक्रम गरी हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो ।
सुरुवाती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा वृद्धि भएपश्चात् कडाईका साथ ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ । सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर वृद्धि हुने ध्वनी प्रदूषणलाई निरुत्साहित गरी प्रदूषण कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिनुभयो ।
जथाभावी हर्न बजाउँदा पैदलयात्री विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरुलाई समेत ध्यानमा राखी नियमित निगरानी र कारबाही गरिँदै आएको डिआजी बोहराले बताउनुभयो ।
पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन सुरु गरेका छन् । गत आव ०८०/८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यसवर्ष समेत नौ हजार ८३० सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठुलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढी ध्वनी प्रदूषण गर्ने गरेको छ । दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरु भएको स्थानमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।