- प्रमिला कार्की
काठमाडौँ, २३ असोज । हिन्दुहरुको महान चाड दसैँ मनाउने आ–आफ्नै तौरतरिकाहरु छन् । हिन्दुभित्रका विभिन्न जातिहरुले विविध तरिकाले दसैँ पर्वलाई मनाउने गर्छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दसैँ मनाउने शैली भिन्न छन् । दसैँलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुहरु नै हुन् । तर, पनि जात–जाति र भूगोलअनुसार दसैँ मनाउने विधि फरक फरक छन् । यद्यपि, दसैँका विशेषता र आकर्षणहरु भने एउटै र उस्तै छन् ।
वास्तवमा दसैँ पर्व मनाउने बेलाको मौसम उपयुक्त र रमाइलो हुन्छ । शरद ऋतु भएकाले यतिबेलाको समय घमाइलो मानिन्छ । वर्षा थामिएर न जाडो, न गर्मीको वातावरण हुने भएकाले दसैँलाई उल्लासका साथ मनाउने प्रचलन छ । मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण दसैँलाई मानिन्छ । नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर पनि दसैँले नै प्रदान गर्दछ । तर, दसैँको विशेषता र आकर्षणले भने सबै हिन्दुहरुलाई प्रफुल्लित बनाउने गर्छ । त्यस्ता केही विशेषताहरुको यहाँ चर्चा गरिएको छ ।
मालाश्री धुन
गाउँघरमा मालाश्री धुन गुन्जिन थालेपछि दसैँ आएको छनक पाइन्छ । घटस्थापनका दिनदेखि रेडियो, टिभीमा यो धुन बज्ने भएकाले वातावरण मनमोहक बनाउँछ । सितार, तानपुरा र तबलालगायतका बाजाहरूको सम्मिश्रणबाट बज्ने धुनले हर्ष र उल्लासको सन्देश दिइरहेको हुन्छ । त्यसबाहेक पञ्चेबाजा, मादल, सारंगी, मुरली लगायतका बाजाहरुबाट पनि मालाश्री धुन निकाल्ने प्रचनल छ । वास्तवमा मालाश्री धुनलाई दसैँ धुन पनि भनिन्छ । दसैँमा देवीको पूजा गरिने भएकाले देवीको गुनगानका लागि यो धुन बजाउने गरिएको ऐतिहासिक मान्यता रहेको छ ।
लिङ्गे र रोटे पिङ
गाउँघरतिर मात्र होइन सहरबजार तिर पनि दसैँ आउनुपूर्व नै पिङ्ग लगाउने चलन बढ्न थालेको छ । गाउँघरतिर पाखाबारीमा भएका बाबिया काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पाएक पर्ने स्थानमा लिङ्गे पिङ लगाउने चलन छ । हिजोआज सहरतिर पनि पैसा उठाएर पिङ लगाउने चलन बढेको छ । विजयादशमीको दिन मान्यजनको हातको टीका लगाएर केहीक्षण भएपनि धर्ती छोड्नुपर्ने लौकिक विश्वासका कारण पिङ खेल्ने प्रचलन छ । पहिले पहिले काठको रोटेपिङ हाल्ने चलन रहेपनि हाल भने यो विस्तारै लोप हुन थालेको छ ।
चंगा चेट
दसैँमा चङ्गा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो । विशेष गरेर सहर बजारमा चङ्गा उडाएर दसैँको धुमधाम स्वागत गरिन्छ । पहिले पहिले नेपाली कागजको प्रयोगबाट बनेको हाते चङ्गा उडाइथ्यो । खुला चौर, कौशी तथा घरको छतमा उभिएर चङ्गा चेटको मज्जा लिने चलन छ । उहिले भन्दा अहिले चङ्गा उढाउने प्रचलन बढ्दै गएको छ ।
शरद ऋतुको सुरुवातीमा पश्चिबाट सरर हावा चल्ने भएको हुँदा चाडवाडको मौसम चङ्गा उडाउनका लागि उपयुक्त हुन्छ । दसैँका बेला चंगा उढाउने प्रतियोगिता नै हुन्छ । उहिले आकाशमा चंगा उडायो भने वरुण देवताले पानी पार्छन् र धान बिग्रन्छ भनेर बुढापाकाले उढाउन दिँदैन थिए । यद्यपि, दसैँको मौसम उपयुक्त हुने भएकाले रमाइलोका लागि चंगा उढाउने चलन चलेको मानिन्छ ।
किम्वदन्तीअनुसार उसबेला नेपालबाट उडाएको चङ्गा तिब्बतको केरुङ्गसम्म पुग्दथ्यो । केरुङमा बसेका गोर्खाली सेनालाई गोप्य सूचना प्रवाह गर्न चङ्गामा लेखेर पठाइथ्यो । नेपालबाट उढाएको चङ्गा हिमालपार भएपछि केरुङ पुग्ने विश्वास गरिन्थ्यो । सञ्चारको विकास नभएका कारण चङ्गाको माध्यमले सूचना आदनप्रदान गरिन्थ्यो । उसबेला हस्तकलामा निपूर्ण व्यक्तिहरुले बाँसका पातलो सुइराहरुमा नेपाली कागजमा टाँसेर चङ्गा बनाउँथे । नेपाली कागजमा सूचना लेख्न पनि सजिलो हुन्थ्यो ।
नयाँ लुगा
दशैंमा नयाँ लुगा किन्ने र लगाउने चलन पुरानै हो । गाउँघरतिर नयाँ कपडा किनेर टेलर्सका सिलाउन दिने होडबाजी नै चल्छ । वर्षा सकिएर हिलोमैलो कम हुने र मौसम घमाइलो हुने भएकाले नयाँ कपडा फेर्ने चलन अनुसार नेपाली समाजमा पनि दसैँमा नै नयाँ लुगा किन्ने प्रचलन रहीआएको बताइन्छ । बालबालिकाहरुलाई नयाँ लुगा किनेर चिटिक्क पार्ने गरिन्छ । त्यसैले दसैँको समयमा नयाँ कपडाहरुको बजार चम्किन्छ ।
मार हान्ने र बलि चढाउने
दशैंमा खसीबोका, भेडा च्याङग्राको बजार खुबै चम्किन्छ । किनकी बडादसैँको नवौँ दिन आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजाआजा गरी बलि दिने चलन छ । कतिपयले यसैदिनलाई मार हान्ने दिनका रुपमा पनि स्वीकारिन्छ ।
दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ । पशुबली नदिनेहरूले कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बली दिई चढाउँछन् । तर, प्रायजसो महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाईंका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । घरमा मार हानेपछि मासुको परिकार बनाएर परिवारमा रमाइलो गर्दै खाने गरिन्छ । किनकी मांशाहारीहरुले दसैँमा मासु अनिबार्य मान्ने गर्छन् ।
दक्षिणा र आशीर्वाद
दसैँमा मान्यजन र आफन्तहरुकामा पुगेर टीका लगाउने चलन छ । टीका लगाउँदा आर्शिवाद दिने गरिन्छ । टीका लगाउँदा दिने आर्शिवाद दसैँको भिन्नै हुन्छ । मान्यजनहरूले संस्कृत भाषामा भएको ‘आयुद्रोणसुते..’ भट्याएर उमेर र पेशाअनुसारको आशीर्वाद दिने गरिन्छ ।
टीका जमरा र आशीर्वादसँगै मावली, बुढो मावली, ससुरालीका मान्यजनबाट प्राप्त भएको दक्षिणाको महत्त्व पनि ठुलै हुन्छ । टीका ग्रहण गर्न जानेहरुले साथमा फलफूल, मिठाइ, कपडालगायतको कोशेली लाने चलन छ । त्यसैले दसैँमा नयाँ नोट सटहीका लागि बैंकहरुले समय र सीमा नै निर्धारण गर्ने गर्छन् ।
टीका र जमरा
दसैँमा रातो वा सेतो टीका लगाउने र जमरा सिउरिने चलन छ । टीका र जमरा दसैँको मुख्य पहिचान पनि हो । मान्यजनबाट टीका थापेर घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा टिपेर टीकाका साथ लगाउने गरिन्छ । टीका र जमरा अन्नवाट बनिने र दही पशुपालनको प्रतिक भएकोले यसलाई अहिले वैज्ञानिक ढंगबाट कृषि उपजको परिचय गराउने पर्वको रुपमा लिइने गरेको छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समद्धि र वैभव प्राप्त हुने जनविश्वास छ । परिवारमा टीका लगाइ आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग समेत टीका लगाउन जाने परम्परा छ । यता धार्मिक दृष्टिकोणका अनुसार दैत्य महिशासुरहरुको अत्याचार सहन नसकी दुर्गा भवानीले कालीको रुप धारण गरेर उनिहरुलाई समाप्त पारेर विजय उत्सव मनाएको दिन भनेर विजय दशमीमा रातो टिका र जमरा लगाएको पौराणीक मान्यता छ ।
सेतो टीका
दसैँमा कतिपय आदिवासी जनजाति समुदायभित्र सेतो टीका र जमरा लगाउने प्रचलन छ । आदिवासी जनजातिहरुको हरेक शुभ कार्य गर्दा दहीमा चामल मुछेर सेतो टीका लगाउने चलन भएकाले दसैँमा सेतै टीका लगाउने परम्परा छ । कतिपय आदिवासीहरुले दसैँका दिन नै आफ्नो अधिकार खोसिएकाले रातो टीका बहिस्कार गरेर सेतो लगाउन थालिएको बताएका छन् । यद्यपि, पशुपालन र कृषि पेशा गरेर बस्ने पहाडी मुलका आदिवासी जनजातिहरुले परापूर्व कालदेखि नै दहीमा चामल मुछेर सेतो टीका लगाउने चलन चलाएको भनाइ पनि छ । सेतो टीकासँग पहँलो जमरा लगाउने चलन छ । यसको वैज्ञानिक र प्राकृतिक कारण पनि रहेको बताइन्छ ।
भेटघाट र रमाइलो खेल
चाडपर्व भेटघाट गर्ने सुनौलो अवसर हो । दशैं भेटघाट जुराउने उपयुक्त अवसर हो । विभिन्न देश तथा टाढा टाढा रहेका मानिसहरु दसैँमा फर्किने चलन छ । आफ्ना विभिन्न व्यस्तताहरुलाई मिलाएर दसैँको छेकोमा हिन्दुहरु गाउँघर फर्कने गर्छन् । त्यसैले दसैँ भेटघाटको रमाइलो अवसर पनि हो । दसैँमा तास तथा लंगुरपुर्जा खेलेर रमाइलो गर्ने चलन छ । संगठित रुपमा जुवा तास खेल्न प्रतिबन्ध रहे पनि आफन्त र साथीहरु मिलेर रमाइलोका लागि दसैँमा तास अनिवार्य जस्तै भएको छ । अन्य रमाइला खेलहरु पनि दसैँमा विशेष आयोजना गर्ने गरिन्छ । नेपाल न्यूज बैंक