कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौँ : डा.शेखर कोइराला

20

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरुसंगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोहीअनुसारको तयारी गर्न नेता एवम् कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला । दसैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुखदुःखमा पनि पुग्नुस्, दसैँको शुभकामना,’ डा.कोइरालाले भन्नुभयो ।

कांग्रेसमा पैसा नहुनेहरुले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औँ महाधिवेशन पर्खनुपर्ने बताउनुभयो ।

‘१५औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौँ,’ उहाँको भनाइ थियो ।

सो अवसरमा दलित संघका केन्द्रीय सदस्य मुक्तबहादुर महतेले नेता कोइरालासँगको भेटमा दलित संघको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

सो क्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरु सरिता प्रसाई, प्रकाश स्नेही , सञ्जय गौतम, सांसद सीता मिजार लगायत उपस्थित थिए ।

Share This:
सम्बन्धित खबर
Loading...