दसैँमा मिठाइ कोसेली बन्द गरौँ, फापर र तामा प्रयोग गरौँ : जनस्वास्थ्यविद् डा.उप्रेती [भिडिओ]

16

काठमाडौँ, १९ असोज । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठुलो महत्त्व छ । डाक्टर, अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन । उनीहरुको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभए पनि तथ्यांकले के देखाउँछ भने नसर्ने रोगहरु एकदमै बढ्दै गइरहेको छ । झण्डै ३५ प्रतिशत महिलाहरु मोटोपनको शिकार भएका छन् । त्यसमा पनि उच्च वर्गका ५३ प्रतिशत र गरिब वर्गका २० प्रतिशत महिला मोटोपनको शिकार भएको तथ्याकंले देखाउँछ । जनस्वास्थ्यको दृष्टिकोणले यो नराम्रो अवस्था हो । कुपोषण पनि बढेको छ । जसले बालबालिको शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि समस्या ल्याइरहेको छ ।

खानपान र स्वस्थ्य जीवनशैलीलाई चाडपर्वमा मात्र होइन । जहिले पनि ध्यान दिनुपर्छ । र त्यसलाई जिन्दगीको अंग नै बनाउनुपर्छ । चाडपर्वको बेला आफन्त र साथीभाइसँग भेट हुन्छ, धेरै समयसम्म भेट नभएकाहरुसँग पनि भेट हुन्छ । त्यो बेला खानाको बारेमा महत्त्वपूर्ण कुरा हुन्छ । दसैँको बेला हो, मासु खाऔँ भन्ने हुन्छ । पहिला पहिला त ‘दसैँ आयो खाउला पिउला’ भन्दा मासु नै भन्ने हुन्थ्यो । तर, अहिलेको समयमा मासु अरु समयमा पनि खाने भएकाले त्यति चासो हुन्न र पनि दसैँको बेला छुट्टै यसको महत्त्व हुन्छ ।
तर एउटा के कुरा चाहिँ विचार गर्नुपर्छ भने चाडपर्वको बेला खानपिन त गरिन्छ तर स्वास्थ्य अवस्थालाई चाहिँ ध्यानमा राख्नैपर्छ । किनकी खानलाई लागि धेरै खायो त्यसपछि बिरामी पर्‍यो भने केही मतलब नै हुँदैन । तर, त्यसको असर दिीर्घकाल रुपमा पर्दै जान्छ ।

पाँच छ फिटको शरीरका लागि तीनचार इन्चको जिब्रोले कन्ट्रोल गर्न सक्दैन । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । मासु, तरकारी, दालभात विभिन्न किसिमका परिकारहरु खाइन्छ । तर, यसमा आनन्द पनि जोडिएको छ । पेट भर्ने मात्रै होइन । घर परिवारसँग, पाहुनालाई बोलाए सँगै खाँदा छुट्टै आनन्द आउँछ । तर, यस्तो बेला खानेकुरामा एकदमै संवेदनशील बन्नुपर्छ । विशेषगरी मासु एकदमै चिल्लो र मसलेदार साथै हेर्दा राम्रो लाग्ने हुन्छ । तर, त्यो खाँदा असर गर्छ भन्नेकुरा बुझनुपर्छ । स्वास्थ्यलाई असर पर्ने कुराहरु सकेसम्म नखानुहोला । मान्छेको मन कस्तो हुन्छ भने मासु र भात पकाएर खाँदा पेट भरिए पनि मुख भरिएको छैन भन्दै खाने स्वभाव हुन्छ । त्यसले धेरै रोगको शिकार बनाउँछ । पहिला दसैँको बेला धेरै रक्सी खाने गरेको देखिन्थ्यो । तर, अहिले के सिद्ध भएको छ भने रक्सी दसैँका लागि मात्र सीमित छैन । धेरै चिल्लो, गुलियो पदार्थहरु, कोल्ड ड्रिङक्सहरु , मिठाइहरु खाँदा मानिसहरुको शरीरमा पनि कलेजोमा बोसो जम्ने समस्या हुन्छ । त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म, कोल्ड ड्रिङक्सदेखि अन्य पेय पदार्थहरुसम्म सेवन गर्दा एकदमै ध्यान पुर्‍याएर खानुपर्छ ।

कोल्ड ड्रिङक्सहरु त झन नछोएकै राम्रो हो । यसका सट्टामा कत्ति धेरै आफ्नै तरिकाका पेय पदार्थहरु कागती–पानी, पुदिना–पानी जस्ता सर्बतहरु सेवन गर्न सकिन्छ । स्वास्थ्य समस्या बढेर चाडपर्वमा अस्पताल जानेहरुको घुँइचो देखिन्छ । दसैँ तिहारमा एकछिन रमाइलो गर्‍यो, त्यसपछि अस्पतालमा डाक्टर खोज्दै जाने गरिन्छ । त्यस्तो भएपछि त चाडपर्वमा रमाइलो गरेको अर्थ नै भएन नि । त्यसैले पछिसम्म जिन्दगी रमाइलो भइराखोस् भन्ने हो भने दसैँ तिहारमा पनि एकदमै संयमित भएर खाना खाने गर्नुपर्छ । पेटभरी र जबरजस्ती खानु हुँदैन । चाडपर्वको बेला जता जाँदा नि खाउँ न खाउँ भन्ने नेपालीहरुको बानी हुन्छ । उसले अपमानित महसुस गर्ला भनेर १० ठाउँमा जाँदा पनि अलि अलि मुखमा हाल्दा बढी नै हुन्छ । त्यसैले अपमानित नहुनेगरी एउटा टुक्रामात्र मुखमा हाल्ने र पेटमा उकुसमुकुस हुनेगरी खाँदै नखाने गर्नुपर्छ ।

दसैँको मुखमा कर्णालीतिर प्रायः सुनिन्थ्यो चामल अभाव भएको कुरा । काठमाडौँबाट चामल लगेर अथवा नेपालगञ्जबाट चामल ढुवानी गरेर कर्णालीतिर लगेर त्यसपछि मानिसले चामल खाने भएको हुनाले चामल विषेश इज्जतको बस्तु मानियो । तर, कर्णलीतिरको चिनो उवा, सिमी, आलु, मार्सी चामल पाइन्छ । त्यसको प्रयोग गर्दा पनि त हुन्छ । त्यसको अर्थ चामल खानै हुँदैन भन्ने होइन । तर, भएन भने चामलको सट्टामा मिलाएर खान पनि त मिल्छ । चामल दसैँमा टीका लगाउने भएर त्यसलाई अक्षतासँग जोडेको हो तर चामल छैन, खान पाएनौँ, भोकै मर्नपर्ने भयो भनेर बस्नुपर्ने पनि छैन । सरकारले सबै ठाउँमा पुर्‍याउन सक्दैन । पुर्‍याएको पनि छैन । चामलको सट्टामा कत्ति धेरै स्वस्थकर खानेकुराहरु कोदो, फापर जस्ता अन्य अन्नहरु छन् । चामल नहुँदैमा अनिकाल हुँदैन । नेपालीहरु चाहिँ चामल नभइ खान पाइँदैन र खान नपाएको भन्छन् । वास्तवमा त्यो होइन ।

चाडपर्वमा मिठाई कोसेली लान त बन्द नै गर्नुपर्छ । मेरोमा आउनेहरुले मिठाइ ल्याउँदा पनि नल्याउनुहोस् भनेको छु । ल्याउनै बन्द गरेको छु । आजभोलि ल्याउन छाड्नुभएको छ । फलफूल पाइन्छ नि बजारमा । म अरुको मा जाँदा फलफूल नै लैजान्छु । अलि सम्मान गर्ने मानिसको जाँदा काजु लैजान्छु । गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु । म आफू मिठाइ किन्दा पनि किन्दिनँ अरुलाई दिँदा पनि दिन्न । अरुलाई फलफूल लैजानुस सजिलो पनि छ । तर मिठाई चाहिँ न लैजानुहोस् नै भन्न चाहन्छु ।

(जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...