कर्णालीको परिचय अब क्रिकेट : सोविता गौतम

15

काठमाडौँ, १८ असोज । प्रतिनिधि सभा सांसद सोविता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको जनाउनुभएको छ ।

बिहीबार पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)ले नयाँ अध्याय थपेको र कर्णाली याक्सले कर्णालीको परिचय थप भएको गौतमले बताउनुभयो ।

‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दै छ । यो सुरूवातका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यबाद तथा बधाई,’ उहाँले भन्नुभयो ।

काठमाडौँ २ क्षेत्रबाट सांसदमा निर्वाचित गौतमले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अनुपम प्राकृतिक सौन्दर्य, संस्कृति, भेषभुषा, जडीबुटी, अर्गानिक उत्पादनसँगै कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिनेछ ।’

एनपिएल आगामी १५ मंसिरदेखि ६ पुससम्म आयोजना हुँदै छ । त्यसका लागि गत सोमबार कर्णालीले आफ्नो लोगोसँगै टिम नाम ‘कर्णाली याक्स’ घोषणा गरेको थियो ।

कर्णालीले मुख्य प्रशिक्षक र टिम निर्देशकमा पूर्वकप्तान तथा नेपाल ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् ।

सांसद गौतमले कर्णालीको प्रतिनिधित्व गर्ने कर्णाली याक्सले अत्यन्तै महत्त्वका साथ आफ्नो टिमको नाम, लोगो र मुख्य प्रशिक्षक सार्वजनिक गरेको बताउँदै टिमलाई शुभकामना दिनुभयो ।

उहाँले नेपाली क्रिकेटले एकदिन विश्वकप जित्ने बताउनुभयो । ‘एनपिएलमा आन्तरिक प्रतिस्पर्धा गज्जबको हुनेछ तर यो प्रतिस्पर्धामा कसैले हार्दैन । नेपालको क्रिकेट क्षेत्रले जित्नेछ र एक दिन नेपालले क्रिकेट विश्वकप जित्नेछ ।’

Share This:
सम्बन्धित खबर
Loading...