भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ : धवलशम्शेर राणा

51

काठमाडौँ, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।

आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ । हामीले अलग्गै अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ।’

साथै, उहाँले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको बताउनुभयो । एक्ला एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन आह्वान गर्नुभया ।

उहाँले समान विचारधारा भएकाहरूलाई समेट्ने प्रयास गर्दा पनि असफल भएको बताउनुभयो । उहाँले मंसिरबाट आफूहरू आन्दोलनको सुरुवात गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आन्दोलन एक दिनको हुँदैन । सबै व्यवस्था गर्छौँ सातदेखि दश दिनसम्म काठमाडौँ उपत्यका ठप्प बनाएर नालायक सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छ।’

यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ लाई प्रचण्डको संविधान २०७२ भन्ने गरेको बताउनुभयो । उहाँले नेपालमा गणतन्त्र प्रचण्डकै कारण आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले नेपालको संविधान २०७२ भन्ने गरेको छैन । मैले यसलाई प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । नेपालको संविधान होइन, प्रचण्डको संविधान २०७२ हो भन्ने गरेको छु भने, यो किन भनियो भने, ६२–६३ को जुन आन्दोलन भयो । आन्दोलनपछि विभिन्न चरण पार गर्दै जुन संविधान आयो त्यो संविधानलाई नेपालका ठुला दलहरुले हामीले ल्याएर आएको गणतन्त्र, संघीयता भनेर हात उचाली उचाली भन्ने गरेको छ, तर वास्तविकता के हो भने उहाँहरुले २००६ साल ७ सालदेखि नै नारा लाउँदै आएको हो भने पनि प्रचण्ड भन्ने प्राणी नभइदिएको भए नेपालमा गणतन्त्र पनि आउने थिएन, संघीयता नि आउने थिएन अनि धर्म निरपेक्षता पनि आउने थिएन ।’

साथै, उहाँले कांग्रेस, एमाले र माओवादीमा पनि संवैधानिक राजसंस्थाको पक्षमा माहोल बढ्दै गएको भन्दै दलहरूसँग संवाद पनि जारी राख्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...