काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक शक्ति कसरी बाँडफाँड भएको त्यो बुझ्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबार संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे साउदले संघ, प्रदेश र स्थानिय तहमा बाँडफाँड भएको राजनीतिले सरकारका निकाय, संरचना, प्रभावकारी हिसावले चल्न सकेका छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशिल दस्तावेज हो भन्ने कुरालाई मानेर हामी अगाडि बढिरहेको अवस्था छ । राजनीतिक शक्तिको बाँडफाँड कसरी भएको छ यो एउटा महत्त्वपूर्ण कुरा छ । संघ, प्रदेश र स्थानीय तहमा हामीले चाहिँ राजनीतिक शक्ति कसरी बाँडफाँड गरेको छौँ र बाँडेको राजनीतिक शक्तिले ती सरकारका निकाय र संरचनाहरु प्रभावकारी हिसाबले चल्न सकेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो ।’
साथै, उहाँले तीन वटा सरकार बनाएर पनि विकास खर्च अत्यन्त न्यून अवस्थामा रहेको बताउनुभयो । उहाँले राज्यको साधारण खर्च धेरै बढेकोले चुस्त, दुरुस्त र व्यवहारिक बनाउनुपर्ने बताउनुभयो ।