जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरुलाई जोगाऔँ : मन्त्री पाण्डे

13

काठमाडौँ, ६ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेका बेला सांस्कृतिक सम्पदाहरुको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एसिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।

उहाँले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भू उपग्रह प्रविधिसँग जोडेर सटिक रुपमा पूर्वसूचना प्रदान गर्न सकिने बताउनुभयो ।

सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभइ वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह वृद्धि जस्ता प्रकोप झेल्नु परिरहेको र सम्वेदनशील क्षेत्रका समुदायहरू जोखिमको अग्रभागमा रहेको बताउनुभयो ।

एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने परम्परा, भाषा, अनुष्ठान, ज्ञान प्रणाली, र कला अमूर्त सांस्कृतिक सम्पदाहरु भएको र यिनीहरु हाम्रो पहिचानको आधार भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, संसारलाई कसरी हेरिरहेका छौँ, प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरेका छौँ । र संकटमा कसरी प्रतिक्रिया दिन्छौँ भन्ने कुरा निर्धारण गर्ने छ । प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान छन् ।’

उहाँले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौँदेखि जटिल ज्ञान र अभ्यासका प्रणालीहरू विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बताउनुभयो ।

त्यस्तै, उहाँले सांस्कृतिक सम्पदाहरुमा यस्ता प्रकोपहरुसँग कसरी अनुकुलन गर्न सकिन्छ भन्ने ज्ञानको भण्डार रहेको र यस्ता ज्ञानले संकटका समयमा जीवित रहन महत्वपूर्ण भूमिका खेल्न उल्लेख गर्नुभयो ।

आदिवासी परम्परामा निहीत ज्ञानले वातावरणसँग बढी दिगो र समर्पित सम्बन्ध विस्तारतर्फ अग्रसर गराउन सक्ने उल्लेख गर्दै मन्त्री पाण्डेले ती अभ्यासहरू बढ्दो आधुनिकता, सहरीकरण, र जलवायु परिवर्तनका कारण मानिसहरु विस्थापित हुने समस्यासँगै ज्ञानहरु लोप हुने हराउने खतरा रहेको हुँदा यी ज्ञानलाई बचाउन र प्रवद्धन गर्नु कर्तव्य भएको उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले जापानमा प्राकृतिक प्रकोपपछि परम्परागत काठका संरचनाहरूको वार्षिक पुनर्निर्माण गर्ने परम्पराको उदाहरण प्रस्तुत गर्दै यी कुरा केवल संरक्षणको विषय मात्र नभएर समुदायको एकजुट हुन र एकअर्कासँग र आफ्नो वातावरणसँगको सम्बन्धलाई पुनः पुष्टि गर्ने तरिका भएको बताउनुभयो ।

अफ्रिकामा परम्परागत संगीत र कथा वाचनले प्रकोपका बेला हुने आघात र क्षतिको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै पूर्वीय सभ्यतामा कथा भन्नु इतिहास र ज्ञानको हस्तान्तरणको एक हिस्सा भएको मन्त्री पाण्डेको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...