धनराज गुरुङ दोषी देखिए जेल जानुहुन्छ : विश्वप्रकाश शर्मा

0

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलभन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताउनुभयो ।

उहाँले नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दा पनि दलकाहरुले हाम्रो अध्यक्षमाथि छानबिन गर्न हुँदैन भनिरहँदा त्यो दल कतिको सक्षम होला भन्दै प्रश्न उठाउनुभयो । उहाँले पुरानो दल कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेकाले छानबिन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ दल भनेर हुँदैन नयाँ प्रवृत्ति हुनुपर्छ, नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्यो तर त्यो दलकाहरुले हाम्रो अध्यक्षमाथि छानबिन गर्न पाइँदैन भनेर भन्यो । पुरानो दलको उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो, उहाँ आफैँले संसद्मा उभिएर ममाथि छानबिन गर्नुस् भनेर भन्नुभयो । नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दै गर्दा उनीहरु भन्छन् छानबिन गर्न मिल्दैन तर हामी भन्छौँ उहाँमाथि छानबिन हुनुपर्छ । उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सिआइबीले छानबिन गरिरहेको छ । धनराज गुरुङ छानबिन गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ ।’

त्यस्तै, उहाँले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभयो । शर्माले स्थिर सरकार नभइ जनतामा देखिएको निराशा भत्काउन नसकिने बताउनुभयो ।

उहाँले २७५ सदस्यीय प्रतिनिधिसभालाई १८५ मा झार्नुपर्ने बताउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, ‘सरकारको नेतृत्व गर्ने अधिकार सिटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । हामी दोस्रो भयौँ भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौँ । २० सिट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो । यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गर्न सकेपछि ।’

Share This:
सम्बन्धित खबर
Loading...