सरकार सुरुवातकै चरणमा असफल : प्रचण्ड

2

काठमाडौँ, ५ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) चितवन–काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठुलो काम गरेर देशभरिका जनताको हृदयमा बसेको कुलमान घिसिङलाई अपमान गरेर निकाल्न खोजियो तर जनताको विरोधपछि सरकार पछि हट्नुपर्‍यो । त्यस्तै, आफैँले बनाएको उपसभामुखलाई सोझोपनका कारण गरेको सामान्य प्राविधिक त्रुटिलाई लिएर कानुनी र नैतिक आधारबिना नै हटाउन खोजियो, त्यसबाट पनि सरकार पछि हट्नुपर्‍यो ।’

उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिको समेत बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्ने गरी हटाउनका लागि हस्ताक्षर गरेको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरु पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसद्लाई ढाँटेको पनि देखियो ।’

उहाँले वर्तमान सरकारमा भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले यो सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको भन्दै भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दै गर्दा भ्रष्टाचारीलाई जोगाउन सरकारबाट हटाइएको तथ्य नेता कार्यकर्ताले भन्दा चाँडो जनताले बुझेकोमा आफूहरु खुसी रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी अभियानका कार्ययोजना निर्माण गर्न यसले ऊर्जा थपेको बताउनुभयो । उहाँले अहिले नेपालमा तीनथरि सोचका बीचमा रस्साकस्सी चलिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले शक्तिको रुपमा कमजोर भए पनि एकथरिले अराजकता मच्चाएर २०४७ सालभन्दा अघिको निरंकुश अवस्थामा मुलुकलाई लैजान सकिन्छ कि भन्ने प्रयासमा छन् । कांग्रेस, एमाले र खासगरी एमालेको एउटा तप्का अहिलेको संविधान स्वीकार गर्न चाहिरहेको छैन । महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमले पाएको अधिकार खोजेर २०४७ कै जस्तो संविधान बनाउन पाए हुन्थ्यो भन्नेमा छ ।’

उहाँले यी दुवै खालेका सोचका विरुद्ध जनताले नयाँ शक्तिको रुपमा रुचाएका प्रगतिशील, बामपन्थी, लोकतान्त्रिक शक्तिहरु जनताको अधिकारको पक्षमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र यही शक्तिको नेतृत्वको गरेर अगाडि बढ्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...