काठमाडौँ, ३ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ ।
बिहीबार संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले संविधानले राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभयो ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ । यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो’, शुभकामना सन्देशमा भनिएको छ ।
संविधानमार्फत् जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
संविधानप्रदत्त अधिकार सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको बताउनुभएको छ ।